काठमाडौं । गलामा खादा, हातमा कागजपत्र, निधारमा विदाइको टिका, साथमा लगेजले भरिएको लरी । लरी घिसार्दै आँसु पुच्दै मलिन अनुहार बोकेर लाल बहादुर तामाङ तेश्रो चोटी विदेश जाँदै छन्, त्यो पनि दुबइको कामदार भिसा लिएर । लाल बहादुरको अनुहारमा कुनै मुस्कान थिएन । उनले यतिबेला आफ्ना बालबालिका र पत्नीको अनुहारमा त्यो गहिरो चिन्ता र असमर्थताको संकेत देख्छन्, तर परिवारलाई छोडेर परदेश जानु उनको रहर नभएर बाध्यता थियो ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी विदेश जान उभिएको यो तेश्रो पटक हो । उनलाई विदेशबाट लामो समय बसेर नेपाल फर्किँदा पनि केही गर्न नसकेको हिनताबोध छ । पहिलो चोटी जाँदा जस्तो मर्मस्पर्शी सोच र भावना यतिबेला नभएपनि बिछोडको पिडाले उनको मन कम भारीे थिएन । उनको मनमस्तिष्कमा एउटै कुरा थियो, 'यसपटक विदेश गएपछि अघिल्लो चोटीको भन्दा धेरै पैसा कमाउनु छ, अनि परिवारको राम्रो भविष्य बनाउनु छ ।' यस्तै सपना बोकेर लालबहादुर र उनिजस्तै धेरै कामदारहरु प्रवेशद्वारबाट भित्र लागे ।
लाल बहादुर जस्तै मोरङ जिल्ला पथरी शनिश्चरे ८ का गणेश बहादुर रावल पनि कामदारको भिसा हातमा बोकेर साउदी अरब उड्ने तयारीमा थिए । उनलाई यहाँ के खाऊँ के लगाऊँ भन्ने समस्या थिएन् । तर देशको अवस्था, बेरोजगारीको बिगबिगीका कारण उनलाई अरुको देशमा श्रम बेच्न बाध्य बनायो । पहिलो पटक साउदीबाट फर्किँदा उनले अब नविदेशिने कसम खाएका थिए । तर स्वदेश बसेको केही वर्षमा नै त्यहाँको कमाइ घर खर्चमै ठिक्क भयो, व्यवसायमा गरेको लगानी बालुवामा पानी जस्तै भयो । सानो तिनो जागिरकै लागि पनि सयौं ठक्कर खाएपछि उनलाई अन्ततः साउदीकै बाटो लाग्ने बाध्यता आइलाग्यो ।
उनले भनेजस्तै यी बलिया पाखुरा भएका युवा जनशक्ति विदेशमै श्रम बेच्न जाने क्रम नरोकिएकाले यहाँका परिवार र गाउँ नै रित्तिसके । विमानस्थलमै भेट भएका प्रभु महरा महिनाको ३०, ३५ हजार नेपालमै कमाउँथे । तर यहाँ खर्चको अनुपात आम्दानी भन्दा धेरै हुन थालेपछि त्यत्ति नै पैसाका लागि फेरि विदेशिए । उनकी श्रीमती यहीँ कमाउन र परिवारलाई एक्लो पारी विदेश नजान बारम्बार अनुरोध गर्छिन तर उनको असमर्थनलाई प्रभु ‘लास्ट चान्स‘ भन्दै पर्खन आश्वासन दिन्छन्
उनीहरुलाई विदेशी भूमिमा गर्नुपर्ने संघर्ष र कष्ट सबै थाहा छ । त्यै पनि दोहो¥याएर विदेशिनुबाहेक उनीहरुसंग अरु कुनै विकल्प छैन् । अधिकांश नेपाली युवा सुन्दर सपना बोकेर विदेशिएका छन् । मोतीबुल मियाँ पनि फेरि कतार गइ पैसा कमाउने अनि परिवारको सम्पूर्ण आवश्यकता पूरा गर्ने सपना बुन्दै छन् । तर ३ दशक भन्दा बढी विदेशमा श्रम गरेका उनको सपना आजसम्म साकार भएको छैन् ।
जे जस्तो कारणले विदेशिएको भएपनि त्यसको परिणाम भने भयानक छ । गाउँमा युवाको संख्या रित्तिँदै छ । देशमा बुढाबुढी, बालबालिकाको संख्या अधिक हुँदै छन् । गाउँघरमा मर्दापर्दा, खेतीकिसानी गर्दा, सामाजिक सांस्कृतिक काममा युवाको उपस्थिति विस्तारै घट्दो क्रममा छ ।
धेरै युवाहरु अफ्ना परिवारसंग अन्तिम विदाइ लिइ विदेशी भूमी जाने लाइनमा जोडिएको यो दृश्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नौलो रहेन । दिनहुँ १२ देखि १५ सयको संख्यामा युवाहरु अहिले यही बाटो भएर परदेश गइरहेका छन् ।
नेपालबाट साना ठुला गरी ११० देशमा नेपाली युवाहरु बैदेशिक रोजगारीका लागि जाने गरेका छन् । त्यसमध्ये ८ वटा मुलुकसंग मात्रै नेपालले श्रम सम्झौता गरेको छ । यसरी सम्झौता नगरेका मुलुकमा श्रम गर्दा भनेजस्तो तलब सुविधाबाट नेपाली बञ्चित हुन्छन् भने कामदारको जोखिम पनि उच्च हुन्छ ।
नेपालमा यतिबेला विभिन्न क्षेत्रमा श्रमिकको अभाव भइरहेको छ । तर स्वदेशमै बसेर काम गर्ने वातावरण नभएका कारण युवाह रु दोहो¥याई तेह¥याई वैदेशिक रोजगारीमा जान मरिहत्ते गरिरहेका छन् । यी युवाहरुलाई स्वदेशमा टिकाइराख्ने वातावरण खोइ त ? यसको व्यवस्थापन राज्यले गर्नुपर्ने होइन र ?


