काठमाडौं । गत शनिबार दिउँसो शान्तिवाटिकामा सयौं मानिसहरुको अनौठो खाले भेला थियो । रंगीचंगी भेषभुषा, त्यही अनुसार श्रृंगार । उनीहरुसंग कुराकानी गर्दै जाँदा लवजले मात्रै थाहा हुन्छ, यो भेला यौनिक तथा अल्पसंख्यक समुदायको हो भनेर । यो भेलामा नारा थिएन, केवल उत्सव र गौरवको रौनक थियो । यहाँ भेला भएका उनीहरुले भन्दै थिए, हाम्रो गौरव महिना, हाम्रो पहिचान । उनीहरु आफ्नो पहिचानको जयजयकार गर्दैथिए । यहाँ पारलैंगिक, समलिंगी, अन्तलिंगी, बाइसेक्जिुअल अर्थात दुई लिंगी, आफ्नो लैंगिक पहिचानमा दोधार भएका क्वीरहरुको जमघट थियो ।
अंग्रेजी क्यालेन्डरको जुन महिना, विश्वभर यौनिक तथा अल्पसंख्यक समुदायका लागि प्राइड मन्थ अर्थात गौरवको महिना । यो महिनाभर यही समुदायलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुको पहिचान, भेटघाट र अस्तित्व खोजीको उद्देश्य अनुरुप कार्यक्रम हुन्छन् ।
भेलामा सहभागीहरु खुलेर खुसी साटिरहेका थिए । उनीहरुलाई देख्दा लाग्छ, आफ्नो शारीरिक बनावटविपरीत लैंगिक पहिचानमा निर्धक्क उडिरहेका छन् । गौरव यात्रामा सहभागी भएका इटहरिका विजय ओझा शारीरिक रुपमा पुरुष भएपनि उनले नाक र कानमा लगाएको मुन्द्रीले उनको लैगिक पहिचान महिलाको हो भन्ने स्पष्ट भयो । उनलाई आफ्नो पहिचानमा गर्व लागेको तर समाजमा आफ्नो पहिचानको संघर्ष नसकिएको बताउँछन् ।
विजय जस्तै दोलखाबाट आएका नवीनलाई देख्दा उनी पुरुषभन्दा कुनै कोणबाट फरक देखिँदैनन् । लवजका आधारमा उनको लैगिक पहिचान महिलाको हो भन्न हामीलाई गाह्रै भएन् । उनलाई लाग्छ, जुनसुकै लिंग लिएर जन्मिएपनि सबैको समान अधिकार हुन्छ र पहिचानका आधारमा सम्मान पाउनुपर्छ पाउनुपर्छ ।
शान्तिवाटिकाबाट नारायणहिटी मार्ग, नागपोखरी तथा नक्साल हुँदै नारायणचौर तर्फ अगाडि बढेको यो यात्रा झन उल्लासमय हुँदैथियो । सबैजना मन खोलेर नाच्दै, गीत गाउँदै बजिरहेको संगीतमा झुम्दै थिए ।
जति जति यात्रा अगाडि बढ्यो पहिले शान्त देखिएका सहभागीहरु अहिले खुलस्त रुपमा बाहिर आउँदै थिए । त्यसमध्येका एक थिए कञ्चनपुर निरज शाह । उनी अन्तलिंगी पुरुष हुन् । उनलाई यो यात्रामा आफ्नो पहिचान भन्न कुनै संकोच थिएन, जति संकोच महशुस अन्य दिनमा उनी गर्थे । उनले समाजले स्विकार्न नसकेको अस्तित्वका लागि संघर्षरत रहेको बताए ,। त्यसैका कारण उनको यो सहभागीता अर्थपूर्ण देखियो ।
त्यस्तै बर्दियाका अमर र्चौधरीलाई यो जुन महिना आत्मिय लाग्छ । हिन्दुहरुको दशैतिहार जस्तै एक गौरवको पर्व जस्तो लाग्छ ।
यात्रामा फ्रष्ट लेडि बोइ, सुन्दर र आधुनिक पहिरनमा चिरिच्याट्ट भएर पर्व मनाउन आएका देखिन्छन् । उनलाई पनि यो पुरै महिना एक पर्व नै लाग्छ । उनलाई आफ्नो समुदायमा भएको विविधता भित्रको एकता, नेपाली समाजलाई देखाउनु छ । त्यो भन्दा महत्वपूर्ण, यो समुदायको विविधता र अस्तित्व स्विकार गर्न सरकारलाई दबाब दिनुछ ।
दिउँसो १ बजेदेखि सुरु भएको यात्रा नारायणचौरमा टुंगियो। उनीहरुले बोकेका रंगीन झण्डा, सन्देश बोकेका प्लेकार्डहरू र अन्य सामानहरु सबै बिसाए । अनि फेरि गायन, नृत्य, कविता वाचन लगायत विविध सांस्कृतिक कार्यक्रममा झुमिरहे । उनीहरुलाई आज कुनै मानसिक दबाब छैन, तनाव छैन, पंछी जस्तै उड्नका लागि स्वतन्त्रता पाएको अनुभूति उनीहरुको हाउभाउ र प्रस्तुतीमा स्पष्ट झल्किए ।
अन्तर्राष्टिय प्रसंग कोट्याउने हो भने, सन १९६९ मा स्टोनवाल विद्रोह निकै चर्चामा छ । स्टोनवाल दंगाले संयुक्तराज्य अमेरिका र विश्वभरि समलिंगी अधिकार आन्दोलनका लागि उत्प्रेरकको काम गर्यो। यसले संसारभर तरंग ल्यायो। विद्रोहको एक वर्षपछि, जुन २८, १९७० मा यो घटनाको वार्षिकोत्सव मनाइयो।
त्यसयता गौरव यात्रा थालनी भयो । प्राइड मन्थका रुपमा उत्सव मनाउने घोषणा भएपनि नेपालमा गौरव यात्रा मनाउन थालेको २०१९ सालदेखि हो । हरेक वर्ष जून महिनाको दोस्रो शनिबार नेपालमा पनि गौरव यात्राको आयोजना हुँदै आएको छ।


