Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

विदेशिने बाध्यता

'मेरा बच्चा खाडी नजाओस्'

'मेरा बच्चा खाडी नजाओस्'

बिहीबार , असार १९ २०८२
बिहीबार , असार १९ २०८२

  • काठमाडौं । उनी हुन्, प्रभु महरा । ९ वर्ष विदेशमा बसेर फर्किएका प्रभु, फेरि कमाउनकै लागि विदेशिए । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा भेट्दा उनी खाडी जाने हतारोमै थिए । बच्चाहरुको पढाइ खर्च धान्नकै लागि उनी बारम्बार विदेश जाने बाध्यतामा छन् । उनी धेरै चोटी विदेश गइसकेका भएपनि यसपाली उनको मन अरुबेलामा भन्दा धेरै दुखेको छ । 

    images

    कामदार भिसामा पन्ध्र सय कमाउनका लागि उनी विदेशिन खोजे । उनी भन्छन्, 'नेपालमै पनि यति कमाइ त हुन्छ, तर यहाँ पैसा जोगिन्न, विदेशमा बस्दा पैसा जोगाउन सकियो । मेरा बच्चाहरु पैसाको बाध्यतामा विदेश जान नपरोस् भन्नकै लागि आफू जानेआउने गरेको हो ।

    प्रभुले नेपालमा पनि ३० देखि ३५ हजार महिनावारी आम्दानी हुने काम गर्थे । उनी स्टिल फर्निचरको कारखानामा रंगरोगन गर्ने काम गर्थे । उनले यो पेसा धेरै वर्षसम्म अंगाले । तर साथीभाइ, आफन्त, चाडपर्व मनाउँदा, यहाँ कमाएको पैसा जोगाउने अवस्था उनले बनाउनै सकेनन् । 'नेपालमै काम गर्दा केही दुःख हुन्न । तर कमाएको पैसा जोगिन्न ।' उनको भनाई छ ।

    उनलाई विदाइ गर्न उनका छोरी ज्वाइँ आएका थिए । उनको परिवारमा तीन छोरी, एक छोरा र श्रीमती छन् । जेठी छोरीको बिहे भइसकेको छ । तर दोश्रो छोरी १२, तेश्रो ८ मा र अर्को बच्चा ७ कक्षामा पढ्छन् । उनीहरुको पढाइ खर्च र छोरीहरुको विवाह खर्च धान्नु छ उनलाई ।

    पहिलो चोटी विदेश जाँदा, उनी ख्यालठट्टामै गए । तर दोश्रो चोटी भने उनी २ वर्षका लागि जाँदा, कमाउने पैसाको हिसाबकिताब गरेर गए । प्रत्येक दुई वर्षमा फर्किँदा, अब विदेश जान्न भन्ने सोचका साथ आउँछन् । तर केही समयपछि उनलाई विदेशको काम र पैसाले उतैतिर तान्छ । उनको जीवनको धेरै लक्ष्य छन्, बालबच्चालाई नेपालमा राम्रो जागिर दिलाउने रहर छ, श्रीमातीसंग बाँकी जिन्दगी हाँसीखुसी बिताउने इच्छा छ । उनी विमानस्थलमा आउनु अघि उनलाई श्रीमतीले विदेश नजान आग्रह गरेकी थिइन् । उनी भन्छन्, 'कति विदेश जाने, पासपोर्ट च्यात्छु भनेर धम्क्याउछिन्, तर मैले भनेँ लाष्ट चान्स ।'

    उनलाई विदेशको थोरै कमाइमा कुनै आकर्षण छैन् । तर आफ्ना बालबच्चा पैसाकै लागि खाडी गएर दुःख भोग्न नपरोस् भन्ने उनी चाहन्छन् । यही उद्देश्यले खाडी पसेका प्रभु, दुई वर्षमा सकुशल नेपाल फर्किऊन्, अनि नेपालमा उनले चाहेको फर्निचर रंगरोगन पेसामा फेरि रमाउने वातावरण बनुन्। 

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij