Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

लैङ्गिक हिंसा विरूद्धको अभियान

‘पार्वती’ किन बाध्य छिन् पहिचान लुकाउन !

‘पार्वती’ किन बाध्य छिन् पहिचान लुकाउन !

शनिबार, मंसिर २० २०८२
शनिबार, मंसिर २० २०८२
  • पोखरा। मध्यरात। चकमन्न फेवाताल। पानीको लहरलाई हावाले बिथोल्दै लगेको छ, जसलाई जूनले नजरअन्दाज गरिरहेको छ। यहाँको सिरेटोलाई रोकिदिएको छ डान्सबारको बन्द ढोकाले, यहाँको चकमन्नतालाई बिथोलिदिएको छ डान्सबार बाहिर टाँगिएका झिलिमिली बत्तीले। ढुक्चुक - ढुक्चुक, ड्याङ - ड्याङ…! बारभित्र ठुलठुला स्वरमा घन्किरहेका छन् हेब्बी बेसमा गीतहरू।

    images

    फेवाताल आसपासको यस्तै माहोलभित्र काम भइराखेको हुन्छ पार्वतीको।

    सायद अहिले पनि उनको मनमा फेवातालका लहराहरू जस्तै पीडाहरू लहरिँदै होलान्। र बोल्दै होलान् डान्सबारका चर्का ध्वनी जसरी ! संगीतको साथ कम्मर हल्लाई हल्लाई झुमिरहेका छन् ग्राहकहरू। पार्वतीको मस्तिष्कमा पनि कति अन्यौलताहरू झुमिरहेका होलान् । मदिराको मातमा रात कटाउनेहरू नसामै डुबिरहन्छन् रातभर। पार्वतीको मन कति उदासीमा अल्झिँदो हो। 

    हामी कल्पना मात्र गर्न सक्छौँ। भोग्ने पार्वतीलाई कति दुख्दो हो सोच्दै नसोचेको विवशताले !

    धेरै बेरको शून्यतालाई चिर्दै लामो सुस्केरा हाल्छिन् र जबरजस्ती नै सही, मुसुक्क मुस्कुराउँछिन् हाम्रो अघि!

    “जिन्दगी यात्रा न हो, जसरी र जस्तो बाटो भए पनि हिँड्नु त पर्छ नै” - सुरूमै गहिरो भाव दिने वाक्य बोलिन् पार्वतीले । आफ्नो पीडाका पोकाहरू हामीमाझ खोल्न उनले बडा ठुलो हिम्मत जुटाइन्।

    आफैँले मन पराएर, सात जुनी सँगै काट्ने कसम खाएर सात फेरो सँगै लिएका थिए उनका श्रीमानले तर जिन्दगीको आधा बाटो पनि नपुग्दै साथ छोडे। कहिलेकाहिँ आफ्नै भोगाई भन्न पनि कति कठिन हुन्छ है! श्रीमानको अनुपस्थिती, साथमा आठ वर्षकी छोरी अनि रातको काम। यी कुराहरू भनिरहँदा कता-कता उनको स्वर काँपिरहेको थियो तर कम्पनलाई जित्दै उनी खुसीका साथ भन्छिन्, “छोरी ठुली हुँदैछे नि! पछि मलाई उसैले नै हेर्ने हो। मेरो फेरि बिहे गरेर अरू सन्तान पाउने योजना छैन।” छोरीको उचाइ, उमेर र तौल बढ्दो छ र सँगै बढ्दो छ पार्वतीका आशाका दीपहरू पनि - चहकिलो गरी !

    कुरैकुरामा उनले हामीलाई त्यही डान्सबारमा पुर्याइन्। उनी आफु चाहि नाच्दिनन्, वेटरको काम गर्छिन्। कहिलेकाहिँ आफुजस्तै किशोरी नाचिरहँदा ग्राहकबाट हुने व्यवहार उनलाई कत्ति मनपर्दैन। पार्वती भन्छिन्,’ग्राहकहरूको नजर नराम्रो हुन्छ। सबै नहोलान् तर धेरै त्यस्तै मनस्थितीका हुन्छन्।’ उनलाई हरेक रात यस्तै असहजता झेल्नुपर्छ। ‘भर्खरका बहिनीहरूलाई त झन् अप्ठेरो हुन्छ’ उनी भन्छिन्।

    पार्वतीलाई समाज देखेर पनि बेलाबेला रिस उठ्छ। राती काम गर्ने महिलालाई खराब देख्ने समाज छ हाम्रो। अहिले पनि डान्स बार, दोहोरी साँझ लगायतको कामलाई कामै नमान्ने परिपाटी छँदैछ। तर उनको विचारमा रातीको कामलाई काम नमान्नुपर्ने केहि कारण छैन। “काम त सबै एकै हैन र? “उनी प्रश्न गर्छिन्, ‘समाजले थोपरिदिएको भाष्य जस्तो भए पनि आफ्नो कला र गला प्रदर्शन गर्न किन अप्ठेरो मान्नु ?’

    समाजको खराब धारणाकै कारण उनी आफ्ना मिल्ने साथी बाहेकलाई आफ्नो पहिचान सुनाउन सक्दिनन्। आफुलाई जन्मदिने आमालाई समेत भनेकी छैनन् । उनी बारमा वेटरको काम गर्छिन् भन्ने कुरा छोरीलाई भने थाहा दिएकी छिन्। तर अबोध छोरीले के बुझ्दी हुन्!

    भनिन्छ, मानिस आफ्नो नामले भन्दा बढी कामले चिनिन्छ। तर यहाँ विडम्बना के छ भने पार्वतीले आफ्नो पहिचान लुकाउनु परेको छ। उनलाई समाजको डर छ। समाजले हेर्ने दृष्टिकोणको डर छ। आफ्नो चरित्रलाई हत्या गरिदिन्छन् भन्ने पिर छ।

    रातीको काम भएकाले बस्नको लागि कोठा खोज्दा पनि कोठा पाउन उनले धेरै दुःख भोगेकी छन्। आजसम्म कयौँको अपमान सहेकी छिन्। अहिले भने बस्ने व्यवस्था राम्रो भएको बताउँछिन्, ‘अहिलेको घरमा घरधनी नभएकाले अलि सजिलो छ।‘

    तनहुँमा जन्मेकी पार्वती ७ सन्तानमध्ये ५ औँ हुन्। परिवारको आर्थिक स्थितिले गर्दा कक्षा ८ मा पढ्दा–पढ्दै स्कुलबाट छुटिन परेको तितो अनुभव उनीसँग छ। अर्को विवाह गर्ने कुनै उद्देश्य नभएको बताउँछिन् उनी। ३५ वर्षिया पार्वतीको जीवनमा साथ र भरोसा भनेकै अब उनकी छोरी हुन्। 

    पार्वतीले अब रातीको काम छोड्ने सोचेकी छिन्। त्यसकै लागि उनी अहिले व्युटी पार्लरको सीप सिक्दैछिन्। लामो समयदेखी महिलाको हक, हित र शसक्तिकरणमा लागिराखेको शुभ अवसर ग्राम नेपाल नामक गैर-सरकारी संस्थाको सम्पर्क तथा परामर्शबाट उनले यस्तो निर्णय लिएकी हुन्। अब छिट्टै पार्वतीको जीवनको नयाँ अध्याय सुरू हुनेछ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij