Logo

शनिबार, भदौ ६ २०८३

शनिबार, भदौ ६ २०८३

देश बदल्न हिँडेका शेषनिधि

देश बदल्न हिँडेका शेषनिधि

बुधबार, जेठ २७ २०८३
बुधबार, जेठ २७ २०८३
  • काठमाडौं। उपत्यकाका सडकहरूमा दैनिक हजाराैं मानिसहरू भेटिन्छन् जाे कसैको सहारा खोजिरहेका हुन्छन्। त्यस्तै हजाराैं मानिसहरूमध्ये एक हुन शेषनिधि पाण्डे उनी जीवनको यस्तो मोडमा छन्, जहाँ न कुनै गन्तव्यको हतारो छ, न त फर्कने कुनै निश्चित ठेगाना। अलिकति चेत र अलिकति अचेतको धमिलो कुइरोभित्र। कसैका आँखामा उनी 'बिचरा' भएसम्मको सहानुभूति पाउँछन्, कसैका आँखामा समाजको 'बोझ' बनेर बिझाउँछन्। कतिले उनलाई केवल एउटा मगन्ते देख्छन्, कतिले मानसिक सन्तुलन गुमाएको मानिस।

    images

    बाहिरी संसारका लागि उनी बेवारिसे होलान्, तर उनीभित्र एउटा अथाह अतीत, आफ्नै गौरवमय इतिहास र एउटा नलेखिएको कथा जीवितै छ। उनी आफ्नै दुनियाँमा हराइरहेका छन्, जहाँ कसैलाई बाधा नपुर्‍याई आफ्नै स्मृतिहरूसँग जुधिरहेका छन्।

    लामो समयदेखि पैताला खियाउँदै भक्सपप नेपालका अगाडि आएका यी वृद्ध निकै थकित देखिन्थे। उनले सुरुमा केही नबोली पानी मागे र धेरै बेरसम्म पानी पिइरहे। लाग्यो, उनी केवल घाँटीको तिर्खा मेटाइरहेका थिएनन्, वर्षौंदेखि मनभित्र बलेको एउटा अदृश्य डढेलोलाई निभाउदै थिए। त्यसपछि चिउरा र चिनी भिजाएर खाए। जब भोको पेटले अलिकति राहत पायो, तब उनीभित्र गुम्सिएका भावहरूलाई पेख्न थाले।

    उनको घर लमजुङ हो। संवादका टुक्राहरू जोड्दै जाँदा उनको विगतको एउटा भव्य दुःखद अगाडि आउँछ। उनी कुनै बेलाका नेपाल 'बोर्ड फर्स्ट' अच्युत तिवारीका सहपाठी (ब्याजी) थिए। घरमा हली-गोठाला राखेर खेतीपाती गराउने खान्दानी पृष्ठभूमिका उनी आज सडकको धुलोमा आफ्नो अस्तित्व खोजिरहेका छन्।

    उनको अल्झिएको स्मरणशक्तिले जीवनका दुईवटा ठूला मोडहरूलाई पटक-पटक समात्न खोज्छ। एउटा लमजुङमा भएको त्यो कहालीलाग्दो जिप दुर्घटना, जहाँ ज्यान जोगाउन उनी झ्यालबाट तल खम्बातिर हाम फालेका थिए। र दोस्रो, देश बदल्न हिँडेको राजनीतिक आन्दोलन (माओवादी) सँग जोडिएका पुराना दिनहरू। गोर्खाका राजनीतिक कार्यक्रमहरूमा हिँडेको, सेना र विद्रोहको चक्रव्यूहमा फसेको कुरा गर्दा उनको आवाजमा अझै पनि एउटा छुट्टै कम्पन सुनिन्छ।

    चितवन, काठमाडौं, गोर्खा र लमजुङका गल्लीहरूमा भौंतारिँदा भौंतारिँदै उनको जीवनको ऊर्जा कता बिलायो, उनी आफैंलाई थाहा छैन। मानसिक सन्तुलन गुमेर सडकको बासिन्दा बन्नु परे पनि, उनीभित्रको मानवीय स्वाभिमानको एउटा त्यान्द्रो अझै मरेको छैन। उनी शरीर मयलले पुरिए पनि मन फोहोर पार्न चाहँदैनन्। उनको शरीरभरि आँखाले देख्न सकिने घाउ र खतहरू त छन्, तर त्योभन्दा कयौँ गुणा गहिरा घाउहरू उनको छातीभित्र लुकेका छन्, जसलाई कुनै भौतिक औषधिले निको पार्न सक्दैन।

    जब उनलाई आश्रममा बसेर उपचार गर्ने र सरसफाइ गर्ने कुरा सोधिन्छ, उनी टोलाउँछन्। उनी भन्छन्, 'पहिले औषधि खानु पर्यो।' उनको मन कुनै चार पर्खालको आश्रममा भन्दा गणेश मन्दिरको खुला चौतारीमै बढी सुरक्षित महसुस गर्छ, जहाँ उनलाई कसैले बाँधेर राख्दैन।

    नेपालका सडक र गल्लीहरूमा शेष निधि पाण्डे त केवल एउटा प्रतिनिधि पात्र मात्र हुन्। यस्ता हजारौँ मानिसहरू हाम्रै आँखा अगाडि दिनरात हिँडिरहेका छन्। कोही मानसिक स्वास्थ्यको अन्धकारमा हराएका छन्, कोही आफ्नै रगत (परिवार) बाट तिरस्कृत भएर सडकमा फ्याँकिएका छन्, त कोही परिस्थितिको क्रूर आँधीले पछारिएर यहाँसम्म आइपुगेका छन्। उनीहरूलाई हेर्ने र खिसीट्युरी गर्ने आँखाहरू त लाखौँ छन्, तर उनीहरूको मौन क्रन्दन बुझ्ने मन एकदमै कम छन्।

    उनीहरूको उद्धार र उपचारका लागि कागजमा सरकारी तथा गैरसरकारी संरचनाहरू, आश्रमहरू नभएका होइनन्। तर, तिनको पहुँच अझै पनि यी वास्तविक र असहाय 'भुँइमान्छे' सम्म पुग्न सकेको छैन।

    शेषनिधि पाण्डेको यो कथा केवल एउटा व्यक्तिको दुःखको बेलिविस्तार मात्र होइन, यो हाम्रो आधुनिक समाज, हाम्रो चेतना र राज्य व्यवस्थामाथि ठुलो प्रश्नचिन्ह हो। सडकमा हराइरहेका यी मानिसहरू केवल हाम्रो 'दया' र दुई थुँगा गाँसका पात्र मात्र होइनन्; उनीहरू यो देशका नागरिक हुन्। उनीहरू उपचार, राज्यको संरक्षण र मानवीय सम्मानका समान हकदार हुन्।

     

    राज्यले उनीहरूलाई 'बेवारिसे' को ट्याग भिराएर पन्छिन मिल्दैन। उनीहरू त राज्यको अभिभावकत्व आवश्यक परेका विशेष नागरिक हुन्। जबसम्म राज्यले यी नागरिकलाई आफ्नो काखमा समेट्न सक्दैन, तबसम्म हाम्रो विकास र सभ्यताको नारा सधैँ खोक्रो रहनेछ। अनि मात्र, कुनै दिन नेपालका सडकहरूमा कोही पनि शेष निधि यसरी अलिकति चेत र अलिकति अचेतमा बेखबर भएर भौंतारिनु पर्ने छैन।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij