मकवानपुर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले परीक्षण उत्पादन सुरु गरेको हेटौँडा कपडा उद्योगको स्थलगत अनुगमन गरेकी छिन्। शनिबार हेटौँडा पुगेकी मन्त्री यादवले उद्योगको परीक्षण उत्पादन मेसिनको अवस्था तथा मर्मतसम्भारको प्रगतिबारे जानकारी लिएकी हुन्।
मन्त्री यादवको उपस्थितिमा नेपाली सेनाको नेतृत्वमा परीक्षण थालिएका ३ सहित ७ वटा मेसिन सञ्चालन गरिएको थियो। उद्योग परिसरमै उनले मर्मतसम्भारमा खटिएको टोली नेपाली सेना तथा सुरक्षा निकायका प्रतिनिधिसँग उद्योग सञ्चालन र आगामी योजनाबारे छलफलसमेत गरेकी थिइन्।
साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगमा पुनः उत्पादन सुरु भएको हो। प्रारम्भिक परीक्षण उत्पादन सफल भएपछि अहिले ३ वटा अटोमेटिकसहित १४ वटा मेसिन उत्पादनको चरणमा पुगेका छन्।
सरकारले उद्योगको मर्मत पुनःस्थापना र सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएपछि उद्योग पुनर्जीवनको प्रक्रिया तीव्र बनेको हो। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन्।
लामो समयदेखि प्रयोगविहीन रहेका मेसिन
उपकरण तथा उत्पादन लाइनको मर्मतपछि परीक्षण उत्पादन सफल हुनु उद्योग पुनः सञ्चालनतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। बाँकी उपकरणको मर्मत सम्पन्न भएपछि उत्पादन क्षमता थप विस्तार गर्ने तयारी गरिएको छ।


