काठमाडौं । तीन वर्षीया गरिमा चौधरीको जघन्य हत्या घटनामा पीडित परिवारलाई न्याय दिलाउने प्रक्रियामा आवश्यक सहजीकरणका लागि कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरी गरिमाका बुबाआमालाई साथमा लिएर गृह मन्त्रालय पुगेकी छन्।
मन्त्री चौधरीले गरिमाका बुबाआमासहित गृह मन्त्रालय पुगेर गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरेकी छन्। भेटका क्रममा घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउने विषयमा छलफल भएको छ।
भेटमा मन्त्री चौधरीले पीडित परिवारले न्यायको अनुभूति गर्ने गरी अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आवश्यक सहजीकरण गर्न गृहमन्त्री गुरुङसँग आग्रह गरिन्।
गरिमाका बुबाआमालाई सम्बन्धित निकायसम्म प्रत्यक्ष रूपमा पुर्याउँदै मन्त्री चौधरीले न्याय प्राप्तिको प्रक्रियामा पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरण निरन्तर गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएकी छन्।


