Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

अझैँ त्रासमा छन् महाङ्कालबासी

अझैँ त्रासमा छन् महाङ्कालबासी

मंगलबार, जेठ २६ २०८३
मंगलबार, जेठ २६ २०८३
  • ललितपुर। गत असोज दोस्रो साता आएको विनाशकारी बाढी र पहिरोबाट अतिप्रभावित ललितपुरको महाङ्काल गाउँपालिकामा आठ महिना बितिसक्दा पनि पुनर्निर्माण र स्थायी आवासको व्यवस्था हुन सकेको छैन। वर्षायाम सुरु भएसँगै थातथलो गुमाएका स्थानीय नागरिक र जोखिमयुक्त बस्तीका बासिन्दामा पुनः विपत्तिको त्रास बढेको छ।

    images

    असोजको उक्त प्राकृतिक विपत्तिमा परी महाङ्काल गाउँपालिकाको गोटीखेलमा मात्रै एकै परिवारका आठ जनाले ज्यान गुमाएका थिए। बाढीपहिरोले सो क्षेत्रका सयौं परिवार विस्थापित हुनुका साथै अर्बौंको भौतिक पूर्वाधार, सडक, खेतीयोग्य जमिन र धार्मिक सम्पदा नष्ट पारेको थियो।

    विपत्तिपछि कतिपय सक्षम परिवारहरू सहरतर्फ बसाइँ सरेका छन् भने आर्थिक रूपमा विपन्न नागरिकहरू अझै पनि अस्थायी टहरा र आफन्तकोमा आश्रित छन्। स्थानीय क्षेत्रमा अझै पनि स्थायी बसोबास र सुरक्षित स्थानान्तरणको पर्खाइ लम्बिएको छ।

    त्यस रातको त्रासदी सम्झँदै स्थानीय एक प्रत्यक्षदर्शीले भने, 'झ्याप्र्याक्क लड्यो, लडेपछि त्यो घर लगिहाल्यो। जम्मै परेछन्, तिन जना अनि दुई-तीन जना चाहिँ बाथ्या। अनि तिनीहरूको चाहिँ लास उता तलतिर भेटियो, बोखेलतिर भेटियो दुई जनाको। श्रीमान र सिल पुरुषको। ममीको चाहिँ भेटिएन।'

    विपत्तिले वर्षौंदेखि व्यवस्थित रहेका बस्ती र खेतीपाती क्षणभरमै बगर बनाएको स्थानीयको भनाइ छ। अर्का स्थानीय बासिन्दाले थपे, 'कुन मेला आउँदो रहेछ, कताबाट आउँदो रहेछ थाहा नै नभैकन लाँदो रहेछ। मान्छे बगायो, घर बगायो, मान्छे मरे, संसार मान्छेको क्षति भयो।'

    लामो समयपछि यस्तो ठूलो विपत्ति व्यहोर्नुपरेको उल्लेख गर्दै अर्का स्थानीयले भने, 'पहिले-पहिले बाढी त्यस्तो ठूलो, यस्तो अहिलेको जस्तो क्षति भएर आको थिएन। यहाँ पारी त मन्देरीहरू कस्तो व्यवस्थित थियो, अनि त्यो बगाएर लाँदा अहिले त के! जम्मा १४ धुरी उठेर हिँडे। खोला अस्ति कलाछेडका खेतीपाती के, अहिले त सबै भत्क्या थियो।'

    महांकाल क्षेत्रलाई राजधानीसँग जोड्ने मुख्य लाइफलाइन 'चापागाउँ–महांकाल सडक' बाढीले बगाएपछि अहिले पनि धेरै खण्डहरू जोखिमपूर्ण अवस्थामा छन्। सडक सहज नहुँदा शिक्षा, स्वास्थ्य र कृषि बजारको पहुँचबाट स्थानीय विमुख भएका छन्।

    यातायातको असुविधाले गर्दा स्थानीय अर्थतन्त्र नै धराशयी भएको उल्लेख गर्दै एक स्थानीयले भने, 'शिक्षामा भो, स्वास्थ्यमा भो, सबैमा चाहिँ सबैले चासो लिएर चाहिँ काम गर्‍यो भने यहाँ विदेशी चाहिँ पलायन हुनु पर्दैन जस्तो लाग्छ। जे होस् यहाँ असुविधाको कारण भनेको बाटोले गर्दा हो।'

    भौतिक पूर्वाधार मात्र नभई बाढीले महांकालको धार्मिक पहिचान बोकेको प्रख्यात बैतरणी धाम र कालेश्वर क्षेत्रका संरचना समेत बगाएको छ। बैतरणी धामको अवस्थाबारे एक दर्शनार्थीले भने, 'यो जुन हामीले देखिराखेका छौ, यो बैतरणी धाम थियो। जुन चाहिँ अहिले नामोनिसान नभएको अवस्थामा छ।'

    महांकाल गाउँपालिकाले विपद व्यवस्थापन र पुनर्निर्माण आफ्नो एकल बजेट र स्रोतबाट सम्भव नभएको जनाएको छ। पालिका नेतृत्वका अनुसार प्राविधिक एवं आर्थिक सहायताका लागि संघीय र प्रदेश सरकारसँग समन्वय गरिए पनि पर्याप्त बजेट प्राप्त हुन सकेको छैन।

    यस विषयमा जनप्रतिनिधिले भने, 'विशेष गरी विपद व्यवस्थापनको लागि पालिकाले त एक्लै, आफैले गर्न सक्ने स्थिति पनि छैन। संघ सरकार र प्रदेश सरकारको सहायताबाट नै पालिका चाहिँ विपदलाई सामना गर्न सक्नुपर्ने परिस्थिति छ। पालिकाले ठ्याक्कै केही नै गर्न सक्ने अवस्था भने पनि होइन।'

    केन्द्र र प्रदेश सरकारले बजेट वक्तव्यमा महङ्कालको पुनर्निर्माणलाई प्राथमिकतामा नराखेको गुनासो पालिकाको छ। नेतृत्वले थपे, 'गाउँपालिकाले गर्न सक्ने भनेको त हामीसँग आर्थिक अवस्था हुँदै हुँदैन। दुई-चार लाखले हुँदैन, करोडको कुरा आउँछ। संघ र प्रदेशमा गयो, हामी गर्दिन्छौ भन्या छन् तर बजेटमा एक रुपैयाँ छैन। सम्बद्ध निकायले वास्ता गरेन, समस्या यहींनेरी हो।'

    तर, हालै वर्तमान अर्थमन्त्रीमार्फत चापागाउँ-महांकाल सडक खण्डको ठेक्काका लागि करिब १ अर्ब ९ लाख रुपैयाँ सुनिश्चित गरिएको पत्र प्राप्त भएपछि भने सडक निर्माण अघि बढ्ने आशा पलाएको छ।

    काठमाडौं उपत्यकाकै ललितपुर जिल्लाभित्र पर्ने भए पनि महांकाल सञ्चार, यातायात र विकासका हिसाबले निकै पछाडि छ। पर्यटकीय र कृषिको प्रचुर सम्भावना भएर पनि राज्यको ध्यान नपुगेको स्थानीयको गुनासो छ।

    महांकालको पर्यटन सम्भावना र विकटता केलाउँदै एक स्थानीय अगुवा भन्छन्, 'कालेश्वर महादेव उत्पत्ति भएको ज्योतिर्लिङ्ग, बौद्ध मार्गीहरूको लुङदुङ गुम्बा र बैतडी धाम यहीँ पर्छ। अफिया झरना र चण्डुङ्गो जस्ता प्रकृतिले दिएका वरदान पनि यहीँ छन्। राजधानीबाट यति नजिकै छ, भन्नलाई हामी भ्यालीबासी भनेर गर्व गर्छौ। तर विडम्बना, भ्यालीबाट त्यहाँ पुग्नलाई तीन-चार घण्टाको समय छुट्याउनु पर्ने, अनि सहजै पुगिन्छ कि पुगिदैन भनेर पहिल्यै डाउट मान्नु पर्ने अवस्था छ।'

    वर्षायाम सुरु भएसँगै महांकालबासीले तत्कालका लागि राहत मात्र नभई सुरक्षित बसोबास र दिगो सडक पूर्वाधारको माग गरेका छन्। चुनावका बेला प्राथमिकतामा पर्ने तर संकटका बेला उपेक्षामा पर्ने गरेको भन्दै स्थानीयले सिंहदरबारको ध्यान आकर्षण गराएका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij