Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

‘अबको पुस्ताले यस्तो दुःख भोग्नु नपरोस्’

‘अबको पुस्ताले यस्तो दुःख भोग्नु नपरोस्’

बिहीबार , फागुन २१ २०८२
बिहीबार , फागुन २१ २०८२
  • काठमाडौँ। पाल्पा घर भएकी ८२ वर्षीया शिवकुमारी पौडेल क्षेत्री शंखपार्कको घाममा बसिरहेकी छन्। शरीर राजधानीमा भए पनि उनको मन भने अझै पाल्पाकै डाँडाकाँडामा अल्झिएको छ।

    images

    ११ वर्षको उमेरमै उनको विवाह भयो। घरकी जेठी छोरी भएकाले सानैमा डोली चढ्नुपर्‍यो। ‘उ बेला पनि विवाहमा डोली चढिन्थ्यो, अहिले पनि चढिन्छ, तर डोली चढेर पनि के गर्नु, आखिर दुःख उस्तै हुँदो रहेछ,’ उनी भन्छिन्।

    उनले आमालाई राम्रोसँग चिन्न पाइनन्। भाइ ९ महिनाको हुँदा आमाको मृत्यु भयो। सानै भएकाले विवाहपछि पनि तीन वर्षसम्म उनी माइतमै बसिन्। उनका श्रीमान् पढाइसँगै खेतीकिसानी गर्थे।

    उनका अहिले चार सन्तान छन्। समयमै अस्पताल जान नपाउँदा दुई सन्तानको कोखमै मृत्यु भएको उनले बताइन्। त्यो पीडा उनको जीवनको गहिरो घाउ बनेर बसेको छ।

    यति धेरै दुःख भोगे पनि उनलाई पहिलेकै समय मन पर्छ। प्राकृतिक सुन्दरता, खेतीपाती र गाउँको मेलमिलापले उनलाई अझै तानिरहन्छ। ‘म भौतिक रूपमा यहाँ भए पनि मानसिक रूपमा भने पाल्पामै छु,’ भन्छिन्। बाध्यताले राजधानी छिरेकी उनी अझै गाउँ फर्किन मन लागेको बताउँछिन्।

    ‘गाउँमा पानी र बत्तीको दुःख थियो, तर अरू सबै सुख थियो,’ उनी भन्छिन्, ‘अहिले भने गाउँमा खेतिपाती गर्न छोडिएको छ, धेरै जना विदेशिएका छन्, गाउँ बाझो हुँदै गएका छन्।’

    उनको जीवनदृष्टि सरल छ। खुसी हुन कुनै ठुलो चिज नचाहिने उनी बताउँछिन्। ‘जति काम गर्‍यो, त्यति खुशी भइँदो रहेछ। जस्तो काम पनि सजिलो मान्नुपर्छ,’ उनको जीवन अनुभव यही हो।

    अहिले उनका दिनहरू शंखपार्कमै बित्छन्। सबै जना काममा गइहाल्छन्, एक्लै बस्न मन लाग्दैन, त्यसैले उनी दैनिक रूपमा पार्क आउँछिन्।

    उनी भोट पहिले देखि नै हाल्दै आएकी हुन्। तर कति पटक भोट हालिन् भन्ने उनलाई थाहा छैन। चुनावबारे खास जानकारी पनि नभएको उनी बताउँछिन्। ‘भोट हाल्न पाल्पा जानुपर्छ, तर त्यति टाढा जान सक्ने अवस्था छैन।’ आफ्नो बस्ने क्षेत्रमा चुनावको माहोल कस्तो छ भन्ने पनि उनलाई थाहा छैन।

    जेनजीको आन्दोलनपछि शिवकुमारीले नयाँ पुस्ताबारे बढी चिन्ता लिन थालेकी छिन्। ‘हाम्रो पालामा त दुःख पायौँ, तर अबको पुस्ताले यस्तो दुःख भोग्नु नपरोस्,’ उनी भन्छिन्। 

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij