ललितपुर। महाँकाल गाउँपालिका नेपालको राजधानी नजिकै भएर पनि विकासको दृष्टिले अझै ओझेलमा परेको भूगोल हो। सातदोबाटोबाट करिब ५० किलोमिटर दक्षिण पुग्दा भेटिने यो गाउँपालिका प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र कृषि सम्भावनाले भरिपूर्ण छ। तर विडम्बना, यहाँ पुग्ने सहज सडक अझै अधुरै छ।
हरियालीले ढाकिएका डाँडाकाँडा, खेतबारी, झरना, मठमन्दिर र गाउँले जीवनले महाँकाललाई लोभलाग्दो बनाउँछ। यहाँ पुग्ने जो–कोहीलाई प्रकृतिको काखमा हराएझैँ अनुभूति हुन्छ। तर यही सुन्दरता आजसम्म पनि पर्याप्त प्रचार र पूर्वाधारको अभावमा सीमित घेराभित्रै कैद छ।

स्थानीयहरूका अनुसार, महाँकालको परिचय यहाको भूगोल मात्र होइन, संस्कृति र धार्मिक आस्थासँग पनि जोडिएको छ। कुनै समय धेरैको आकर्षण बनेको वैतरणी धाम अहिले पुरानै रौनक गुमाएर सुनसान बनेको छ। एक समय भीडभाड हुने ती स्थानहरू अहिले सम्झनामा सीमित छन्। स्थानीयहरू अझै पनि त्यो धाम फेरि जीवित होस् भन्ने आशा बोकेर बसेका छन्।

यहाँका अधिकांश बासिन्दाको मुख्य पेशा कृषि, पशुपालन र दुग्ध उत्पादन हो। मेहनत गरेर उत्पादन गरिएका तरकारी, फलफूल र दुग्धजन्य सामग्री बजारसम्म पुर्याउन भने सडककै समस्या मुख्य बाधा बनेको छ। वर्षायाममा हिलो र पहिरोका कारण आवतजावत थप कठिन हुन्छ।

प्राकृतिक रूपमा अत्यन्तै सुन्दर भए पनि महाँकाल अझै पर्यटनको व्यवस्थित नक्सामा समेटिन सकेको छैन। कुहिरोभित्र हराइरहेका डाँडाहरू, शान्त गाउँ, खुला आकाश र मौलिक जीवनशैलीले यहाँ अद्भुत पर्यटन सम्भावना बोकेको स्पष्ट देखिन्छ। तर पहुँच नहुँदा ती सम्भावना विस्तार हुन सकेका छैनन्।

स्थानीय बासिन्दाको एउटै अपेक्षा छ 'बाटो बनोस्, महाँकाल बदलियोस्।' हरेक खालका विकासका कामका लागि सडक पूर्वाधार प्रमुख हो । यसले नै अरु विकासको ढोका खोल्छ। सहज पहुँच बने महाँकालको कृषि, पर्यटन र स्थानीय जीवनशैलीले नयाँ गति लिन सक्ने विश्वास यहाँका बासिन्दामा अझै जीवित छ।





