काठमाडौं। विश्व वातावरण दिवसको अवसर पारेर हिमालयन वातावरण संरक्षण प्रा.लि.ले आयोजना गरेको वातावरणीय सचेतना कार्यक्रमको पहिलो दिन आज सफलतापूर्वक सम्पन्न भएको छ। बढ्दो वातावरणीय प्रदूषण र जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै आयोजना गरिएको यस कार्यक्रममा विभिन्न सचेतनामूलक तथा व्यवहारिक गतिविधिहरू सञ्चालन गरिएका थिए। कार्यक्रममा वातावरण संरक्षणका उपायहरू, जलवायु परिवर्तनले पारेका असरहरू र तिनको न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो। यसै गरी, सहरी क्षेत्रको मुख्य समस्याको रूपमा रहेको फोहोरमैला व्यवस्थापन, प्लास्टिकजन्य प्रदूषण कम गर्ने तरिकाहरू र पर्यावरण अनुकूल दिगो जीवनशैली अपनाउने विषयमा केन्द्रित रहेर विविध सरसफाइ गतिविधिहरू सञ्चालन गरिएका थिए।


कार्यक्रममा उपस्थित सहभागीहरूलाई दैनिक जीवनमा वातावरणमैत्री अभ्यासहरू कसरी लागू गर्ने भन्नेबारे जानकारी गराउँदै सचेतनामूलक सञ्चार सामग्री र सन्देशहरू प्रस्तुत गरिएको आयोजकले जनाएको छ। समारोहलाई सम्बोधन गर्दै हिमालयन वातावरण संरक्षण प्रा.लि.का अध्यक्ष भूपाल आचार्यले वातावरण जोगाउनु आजको समयको सबैभन्दा ठुलो आवश्यकता भएको बताए। उनले 'वातावरण संरक्षण केवल आजको आवश्यकता मात्र होइन, यो हाम्रा भावी पुस्ताको सुरक्षित भविष्य र अस्तित्वसँग जोडिएको गम्भीर विषय रहेको बताएका छन्। अध्यक्ष आचार्यले प्रकृति जोगाउनका लागि व्यक्तिगत र सामूहिक दुवै स्तरबाट निरन्तर प्रयास हुनुपर्नेमा विशेष जोड दिए। स्थानीय समुदाय, युवा वर्ग तथा सरोकारवाला निकायहरूको सक्रिय र सामूहिक सहभागिताले मात्रै वर्तमान समयका जटिल वातावरणीय चुनौतीहरूलाई समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।


उक्त वातावरणीय सचेतना तथा सरसफाइ कार्यक्रममा सृजनशील टोल सुधार समितिका पदाधिकारीहरू, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारण टोलवासीहरूको उल्लेख्य र उत्साहजनक उपस्थिति रहेको थियो। विश्व वातावरण दिवसको सन्दर्भ पारेर सुरु गरिएको यो चेतनामूलक अभियान आगामी दिनहरूमा पनि अन्य विभिन्न स्थानहरूमा निरन्तर रूपमा सञ्चालन गरिने जानकारी आयोजक संस्थाले दिएको छ।

हरेक वर्षको जुन ५ तारिखका दिन संसारभर विश्व वातावरण दिवस मनाउने गरिन्छ। यस दिवसको मुख्य उद्देश्य नै विश्वव्यापी रूपमा पर्यावरण र प्रकृतिको रक्षाका लागि जनचेतना जगाउनु र सबैलाई जिम्मेवार बनाउनु हो। सोही उद्देश्यलाई आत्मसात् गर्दै संस्थाले यो कार्यक्रम सम्पन्न गरेको हो।



