Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

'मदन भण्डारी र विरेन्द्र राजा भइदिए...'

'मदन भण्डारी र विरेन्द्र राजा भइदिए...'

बिहीबार , असार ४ २०८३
बिहीबार , असार ४ २०८३
  • काठमाडौं । ८८ वर्षीय खेमराज रेग्मिको जीवन एउटा व्यक्तिको कथा मात्र होइन, परिवर्तन हुँदै आएको नेपालको कथा पनि हो। उनको अनुहारमा देखिने चाउरी, आँखामा झल्किने अनुभव र शब्दहरूमा सुनिने समयका कथा कुनै पुस्तकका पानाभन्दा कम रोचक छैनन्। उनले यस्तो नेपाल देखेका छन् जहाँ गाउँमा विद्यालय पुग्न बाँकी थियो, रेडियो सुन्न मानिसहरू डराउँथे र घर उज्यालो बनाउन तोरीको तेलको दियो बाल्नुपर्थ्यो।

    images

    आज उनी वृद्ध भइसकेका छन्। उमेरले शरीरलाई कमजोर बनाएको छ। सास फेर्न पनि केही कठिनाइ हुन्छ। तर स्मृतिहरू भने अझै ताजै छन्। उनी मुखियाकालदेखि पञ्चायत, राजतन्त्र र अहिलेको गणतान्त्रिक व्यवस्थासम्मका परिवर्तनका प्रत्यक्ष साक्षी हुन्।

    बाल्यकाल सम्झँदा उनको मन सबैभन्दा पहिले विद्यालयतिर होइन, ढोरपाटनका बुके (उच्च लेकाली घाँसे मैदान) तिर पुग्छ। त्यहाँ गाईभैँसी चराउँदै बितेका दिनहरू अझै उनको सम्झनामा ताजै छन्। त्यो समय उनीहरूको संसार किताब र कापीको होइन, जंगल र गोठको थियो। भैँसी र गाई लिएर उकालो चढ्दै बुके पुग्ने, दिनभर गोठालो गर्ने र साँझ घर फर्किने दैनिकी थियो। जंगलमा बाघभालुको डर हुन्थ्यो। तर त्यसभन्दा ठूलो अभाव थियो शिक्षाको।

    उनी भन्छन्, विद्यालय जाने अवसर नै मिलेन। आफूहरू गोठालो गर्दै हुर्किए। पछि विद्यालयहरू खुल्न थाले, पढाइको वातावरण बन्न थाल्यो, तर त्यसबेलासम्म उनीहरूको बाल्यकाल बितिसकेको थियो। भाइबहिनीहरूले भने केही अवसर पाए, तर आफूले त्यो मौका गुमाउनुपरेको सम्झँदा आज पनि उनलाई दुःख लाग्छ।

    पढ्न नपाएको पछुतो उनको जीवनभरको साथी बनेर बसेको छ। उनी भन्छन्, यदि पढ्ने अवसर पाएको भए पत्रपत्रिका पढ्न सकिन्थ्यो, संसारका धेरै कुरा बुझ्न सकिन्थ्यो, ज्ञान बढाउन सकिन्थ्यो। जीवनले दिएको यही एउटा अधुरोपन उनको मनमा अझै बाँकी छ।

    यद्यपि उमेर ढल्किसकेपछि सञ्चालन भएको प्रौढ शिक्षामा उनी केही समय सहभागी भए। त्यहाँबाट उनले केही अक्षर चिन्न सिके। अक्षर चिन्ने त्यो सानो अवसरले पनि उनलाई शिक्षाको महत्व झन् गहिरोसँग बुझायो। त्यसैले आज गाउँगाउँमा विद्यालय देख्दा र साना बालबालिका विद्यालय जाँदा उनी खुसी हुन्छन्। उनका अनुसार अहिलेको पुस्ता भाग्यमानी छ। पहिले धनी र पहुँच भएका परिवारका मानिसहरूले मात्र पढ्ने अवसर पाउँथे भने अहिले अधिकांश बालबालिकाले शिक्षा हासिल गर्न पाएका छन्।

    शिक्षामात्र होइन, जीवनका अन्य पक्षमा पनि ठूलो परिवर्तन आएको उनले देखेका छन्। उनीहरूको समयमा दैनिकी निकै कठिन थियो। बुटवलबाट नुन बोकेर ढोरपाटनसम्म लैजानुपर्थ्यो। डोकोमा भारी बोकेर दिनौं यात्रा गर्नुपर्ने अवस्था थियो। त्यो समयको दुःख सम्झँदा आजको जीवन धेरै सहज लाग्छ। 

    सूचना र सञ्चारको अवस्था पनि फरक थियो। अहिले जस्तो मोबाइल, इन्टरनेट वा टेलिभिजन थिएनन्। समाचार सुन्न रेडियोको भर पर्नुपर्थ्यो। गाउँका कुनै पसलमा रेडियो बज्दा मानिसहरू त्यसको वरिपरि भेला हुन्थे। तर नयाँ कुरा भएकाले कतिपय मानिस रेडियो सुन्नसमेत डराउँथे। प्रविधिसँग परिचित नभएको त्यो पुस्ताका लागि धेरै कुरा अनौठा लाग्थे।

    उज्यालोको कथा पनि फरक थियो। घरमा बिजुली थिएन। तोरीको तेलको दियो बालेर घर उज्यालो बनाइन्थ्यो। आज चारैतिर बिजुलीका बत्ती बल्दा पनि उनलाई त्यो समयको सम्झना आइरहन्छ।

    समाज पनि धेरै बदलिएको छ। खेमराजका अनुसार पहिलेका मानिसहरू सोझासाझा थिए। उनीहरू बोलेको कुरा पूरा गर्थे। वचनको मूल्य थियो। मानिसहरूबीच विश्वास धेरै थियो। अहिले सुविधा र अवसर बढेका छन्, तर विश्वास र इमान्दारिता भने केही कमजोर भएको जस्तो उनलाई लाग्छ।

    उनले समाजमा विभेदको समय पनि देखेका छन्। मानिसहरूबीच दूरी थियो। तर अहिले मानिसहरूले एकअर्कालाई बुझ्न थालेका छन्। शिक्षा र चेतनाको विस्तारसँगै समाजमा सकारात्मक परिवर्तन आएको उनको अनुभव छ।

    राजनीतिक परिवर्तनका अनेक चरण देखेका खेमराजको मनमा एउटा पछुतो भने अझै बाँकी छ। मदन भण्डारी र राजा वीरेन्द्रको निधनले देशले केही गुमाएको हुन सक्ने उनी विश्वास गर्छन्। जनताको दुःख सुख बुझ्ने व्यक्तित्वका रूपमा उनीहरूलाई सम्झिने खिमराङका लागि त्यो एउटा अपूरो सम्भावनाको सम्झना हो।

    आजको पुस्ताको संघर्ष र आफ्नो पुस्ताको संघर्षलाई तुलना गर्दा उनी फरक देख्छन्। पहिलेको संघर्ष जीवन धान्ने संघर्ष थियो। अभाव, दुःख र कठिन यात्रासँग जुध्नुपर्थ्यो। अहिले समय बदलिएको छ तर संघर्षका स्वरूपहरू फेरिएका छन्। यद्यपि जुनसुकै समय भए पनि इमान्दारिता आवश्यक रहने उनको बुझाइ छ।

    जीवनका ८८ वर्ष पार गरेका खेमराजसँग आजका नेतृत्वकर्ताका लागि पनि सन्देश छ। उनको अपेक्षा ठूलो छैन। उनी केवल इमान्दार काम चाहन्छन्। देशभित्रै अवसर सिर्जना होस्, मानिसहरू बाध्य भएर विदेश जान नपरोस् र जनताको दुःख बुझेर शासन चलाइयोस् भन्ने उनको चाहना छ।

    भैँसी गोठालो गर्दै बितेको बाल्यकाल, पढ्न नपाएको पछुतो, डोकोमा नुन बोकेर हिँडेका दिन, रेडियो सुन्न डराउने समय र आजको बदलिएको नेपाल

    यी सबै अनुभवसँगै खेमराज एउटा पुस्ताको प्रतिनिधि बनेर उभिएका छन्। उनको कथा केवल व्यक्तिगत स्मृति होइन, परिवर्तनको लामो यात्रालाई सम्झाउने एउटा जीवित इतिहास पनि हो।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij