Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

सरकारी कर्मचारी, कर्मचारीतन्त्रका आलोचक किन ?

सरकारी कर्मचारी, कर्मचारीतन्त्रका आलोचक किन ?

शुक्रबार, असार ५ २०८३
शुक्रबार, असार ५ २०८३
  • काठमाडौं । भक्तपुरको कटुन्जेमा बसोबास गर्ने ६९ वर्षीय प्रेम विष्णु थापाको जीवन कथा केवल एक व्यक्तिको संघर्ष र सफलताको कथा मात्र होइन, नेपालको इतिहास, राष्ट्र निर्माणको भावना र सार्वजनिक सेवाप्रतिको समर्पणको जीवित दस्तावेज पनि हो।

    images

    उनको परिवारको इतिहास नेपाल एकीकरणसँग जोडिएको छ। पृथ्वीनारायण शाहले भक्तपुर विजय गरेपछि गोर्खाली सेनाका केही परिवारलाई सुरक्षाका दृष्टिले भक्तपुरका विभिन्न क्षेत्रमा बसोबास गराइएको थियो। त्यही गोर्खाली सैनिकको वंशमा जन्मिएका प्रेम विष्णु थापाले बाल्यकालदेखि नै आफ्ना बुवा र हजुरबुवाबाट नेपाल एकीकरण, त्याग र बलिदानका कथा सुन्दै हुर्किए। ती कथाले उनको मनमा राष्ट्रप्रेम र जिम्मेवारीको भावना गहिरो बनायो।

    बाल्यकालमै उनको सपना नेपाली सेनामा भर्ती हुने थियो। परिवारको सैनिक पृष्ठभूमिले पनि उनलाई त्यसतर्फ आकर्षित गरेको थियो। तर आमाको आग्रहले उनको जीवनले अर्को मोड लियो। परिवारको जिम्मेवारी सम्हाल्नुपर्ने भन्दै आमाले सेनामा जान नदिएपछि उनले सरकारी सेवाको बाटो रोजे।

    साधारण किसान परिवारमा जन्मिएका थापाको जीवन सहज थिएन। बुबाको असामयिक निधनपछि परिवारको सम्पूर्ण जिम्मेवारी आमाको काँधमा आयो। खेतीपातीबाट आएको आम्दानीले घर चल्थ्यो, तर उच्च शिक्षा हासिल गर्नु चुनौतीपूर्ण थियो। त्यसबीच उनले पढाइ र कामलाई सँगसँगै अघि बढाए। एसएलसी उत्तीर्ण गरेपछि शिक्षकका रूपमा काम सुरु गरेका उनले क्रमशः स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरे। जनप्रशासनमा स्नातकोत्तर (एमपीए) र व्यवस्थापनमा एमबीए गरेका उनले आफूलाई निरन्तर योग्य बनाउँदै लगे।

    उनको व्यावसायिक जीवन नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) सँग जोडियो। निगममा रहँदा उनले लेखा, आन्तरिक लेखापरीक्षण, परियोजना मूल्यांकन तथा बजार अध्ययनजस्ता विभिन्न जिम्मेवारी सम्हाले। उद्योग स्थापना र विकासका लागि आवश्यक वित्तीय तथा बजार सम्भावनाको अध्ययन गर्ने काममा उनको महत्वपूर्ण भूमिका रह्यो।

    निगमबाहेक सहकारी, बैंक तथा वित्तीय क्षेत्रमा पनि उनले योगदान दिए। बनेपामा स्थापना गरिएको कन्ट्री डेभलपमेन्ट बैंकको संस्थापक समूहमा समेत उनी आबद्ध थिए, जुन पछि प्राइम कमर्सियल बैंकमा गाभिएको थियो।

    नेपाल औद्योगिक विकास निगम, सहकारी संस्था, बैंकिङ क्षेत्र र विभिन्न वित्तीय संस्थामा काम गर्दागर्दै उनले झण्डै पाँच दशक बिताए। औद्योगिक विकास, वित्तीय व्यवस्थापन र संस्थागत सञ्चालनका अनेक अनुभव बटुले। तर यति लामो सेवा अवधिपछि पनि उनी कर्मचारीतन्त्रका कट्टर समर्थक बनेनन्।

    बरु उनी यसको आलोचक बने।

    उनको बुझाइमा नेपालको विकासलाई रोक्ने मुख्य कारणमध्ये एक कर्मचारीतन्त्रको कार्यशैली हो। नागरिकले सामान्य सेवा लिन समेत अनेक कार्यालय धाउनुपर्ने अवस्था, फाइल एक टेबलबाट अर्को टेबलमा पुग्न लाग्ने समय, अनावश्यक झन्झट र प्रक्रियागत जटिलताले राज्यप्रतिको विश्वास कमजोर बनाइरहेको उनको ठम्याइ छ।

    'नागरिकले सेवा पाउन भोलि आउ, पर्सि आउ भन्ने होइन, तोकिएको समयमा काम हुनुपर्छ,' उनी भन्छन्।

    उनले भारतमा देखेको सेवा प्रणालीको उदाहरण दिँदै एउटै स्थानबाट काम सम्पन्न हुने व्यवस्था नेपालमा पनि आवश्यक रहेको बताउँछन्। उनको विचारमा सुशासन भनेको केवल नारा होइन, नागरिकले सहज रूपमा सेवा पाउनु हो।

    थापा कर्मचारीतन्त्रभित्रको अर्को समस्याको रूपमा ‘चाकडीवाद’लाई देख्छन्। योग्यता र क्षमताभन्दा पहुँच र सम्बन्धले अवसर निर्धारण गर्ने संस्कृतिले संस्थागत विकासलाई कमजोर बनाएको उनको अनुभव छ। त्यसैले आफूले निरन्तर अध्ययन गरेर आफ्नो योग्यता बढाएको उनी सुनाउँछन्।

    यति लामो सार्वजनिक जीवन बिताउँदा पनि उनले आफूले कहिल्यै अनियमितता नगरेको गर्वका साथ सुनाउँछन्। उनका अनुसार मानिसहरूले उनलाई कहिलेकाहीँ ‘कडा स्वभावको’ वा ‘घमण्डी’ भने पनि उनको इमानदारिताको कुरा भने सधैं जोड्थे । यही पहिचानलाई उनी आफ्नो सबैभन्दा ठूलो उपलब्धि मान्छन्।

    हाल उनी सक्रिय सरकारी सेवाबाट टाढा छन्। बिहान योग र व्यायाम गर्ने, साथीभाइसँग भेटघाट गर्ने, पत्रपत्रिका पढ्ने तथा सामाजिक र धार्मिक गतिविधिमा सहभागी हुने उनको दैनिक दिनचर्या बनेको छ। उमेरले ढल्किए पनि समाज र राष्ट्रप्रति उनको चासो अझै उस्तै छ।

    उनको चिन्ता नयाँ पुस्ताप्रति पनि छ। परिवारमा पुस्तौंदेखि सैनिक सेवा गर्ने परम्परा रहे पनि अहिले अधिकांश युवा विदेशतिर आकर्षित भएको देख्दा उनलाई दुःख लाग्छ। देशभित्र अवसर सिर्जना हुनुपर्ने र युवाले आफ्नो भविष्य आफ्नै भूमिमा देख्न सक्नुपर्ने उनको धारणा छ।

    जीवनका यति धेरै उतारचढाव पार गरेका प्रेम विष्णु थापाको निष्कर्ष सरल छ । उनी भन्छन् ,' मानिसले आफ्नो क्षमता अनुसार इमान्दारीपूर्वक काम गर्नुपर्छ। अरूको सफलतासँग तुलना गरेर होइन, आफूले गरेको योगदानबाट सन्तुष्ट हुन सिक्नुपर्छ।'

    नेपाल एकीकरणको गौरवशाली इतिहास बोकेको परिवारमा जन्मिएका प्रेम विष्णु थापाको जीवनले राष्ट्रप्रेम केवल युद्धभूमिमा देखिने साहस होइन, आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नु पनि देशसेवाकै अर्को रूप हो भन्ने सन्देश दिन्छ ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij