काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सहज रूपमा लिँदै त्यसको न्यायिक सामना गर्ने बताएका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण निर्णय तथा गतिविधिहरू विधानसम्मत रहेकाले कुनै किसिमको द्विविधा वा डर मान्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे।
विशेष महाधिवेशनको प्रक्रिया कानुनसम्मत तरिकाले सम्पन्न भई निर्वाचन आयोगबाट समेत अद्यावधिक भइसकेको उल्लेख गर्दै थापाले भने, 'हाम्रो विशेष महाधिवेशन विधानसम्मत छ। निर्वाचन आयोगले पनि यसलाई कानुनसम्मत ठहर गर्दै अभिलेखीकरण गरिसकेको छ।'
अदालतमा मुद्दाको पुनरवलोकन हुनु न्यायिक प्रक्रियाकै स्वाभाविक अङ्ग भएको टिप्पणी गर्दै उनले थपे, 'अदालतमा एक पटक सत्य ठहरिएको कुरा फेरि पनि सत्य नै हुन्छ, हामीलाई न्यायालयप्रति विश्वास छ।'
थापाले कानुनी प्रक्रियामा दरिलो प्रमाण पेस गर्नुका साथै पार्टीभित्रको आन्तरिक एकता र कार्यकर्तामाझको विश्वास नै सबैभन्दा ठूलो सामर्थ्य भएको भन्दै कार्यकर्ताहरूलाई विचलित नहुन आह्वान गरे।


