Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

गाउँका कथा

रित्तो गाउँका एक्ला बा !

रित्तो गाउँका एक्ला बा !

महाँकाल विशेष

बुधबार, जेठ ६ २०८३
बुधबार, जेठ ६ २०८३
  • ललितपुर।  महाकाल गाउँपालिका बाहिरबाट हेर्दा  कुनै 'स्वर्ग' भन्दा कम देखिँदैन। बाटो पुगेको छ, बिजुली बलेको छ, र हात-हातमा सञ्चारको सुविधा छ। तर, यही स्वर्गको एउटा कुनामा ८४ वर्षका मकरनाथ घिमिरे एउटा यस्तो सत्यमा बाँचिरहेका छन्, जो निकै 'भारी' र 'एक्लो' छ।

    images

    पहाडको थुम्कामा एउटा सानो घर छ। त्यही घरमा मकरनाथका दिनहरू कहिले टोलाएर त कहिले पुराना सम्झनाहरू उधिनेर बित्छन्। 'सँगैका साथीहरू सहर पसे, आफन्तहरू टाढिए, अहिले त मसँग बोल्ने मान्छे पनि छैनन्,' उनी भन्छन्। उनी कहिलेकाहीँ एक्लोपन भुल्न तल गोटीखेल झर्छन्, तर त्यहाँ पनि उनले खोजेका पुराना मान्छेहरू भेटिँदैनन्।

    मकरनाथको आँखामा गाउँ फेरिएको छ, तर मन भने रित्तिएको छ। 'अचम्म लाग्छ, बजार त ठुलो देखिन्छ तर यो फेरोमा ५० जना मान्छे पनि छैनन्, जम्मै उजाडिएर गए,' उनी गाउँको रित्तोपन देख्दा भावुक बन्छन्। सुविधा त आयो, तर त्यो सुविधा उपभोग गर्ने मान्छेहरू नै गाउँमा टिकेनन्। 'गाउँमा धेरथोर विकास त पुग्यो, पिच नभए पनि सडक छ, बिजुली छ, मलाई त यति नै स्वर्ग जस्तो लाग्छ।'

    महाँकालका अरू कथा हेन्नुहोस्

    यो भौतिक स्वर्गभित्र एउटा ठुलो विडम्बना लुकेको छ। मकरनाथको जीवनसाथीले साथ छोडेको १७-१८ वर्ष भइसक्यो। छोराछोरी सहरमा छन्, कोही जागिरे छन् त कोही व्यापारमा। तर मकरनाथलाई भने यो माटोले यसरी बाँधेको छ कि उनी सहर जानै सक्दैनन्। 'पाँच भाइको अंश निखनेर धेरै दुःखले यो ठाउँ कमाएको हुँ, मलाई त यही माटोमै मर्न पाए हुन्थ्यो जस्तो लाग्छ,' उनले आफ्नो मनको धोको खोले। उनी भन्छन्, 'यो धर्ती माता मेरो पनि होइन, बुबाको पनि होइन, तर पसिना बगाएको ठाउँ भएकाले माया लाग्दो रहेछ।'

    ८४ वर्षको उमेरमा पनि मकरनाथ आफ्नै हातले खाना पकाउँछन्। कसैको सहाराबिना आफ्नो जीवन डोहोर्‍याइरहेका छन्। 'मैले निकै दुःख गरेँ, १४ हलको जमिनमा खेतीपाती गरेँ, दाउराको भारी बोकेर २-२ रुपैयाँमा बेचेर छोराछोरी पढाएँ।'  उनलाई कुनै ठुलो रोगले छोएको छैन। 'भगवानकाे कृपाले अहिलेसम्म ठुलो रोग छैन, अलिअलि ज्यान दुख्दा सिटामोल खान्छु, अर्थ थोक केही छैन।'

    गाउँको बसाइँसराइ र खेतीपाती प्रतिको मोह घट्दै गएको देख्दा उनको मन भक्कानिन्छ। 'मान्छेहरू धन कमाउन विदेश जान्छन्, तर आउँदा रोग बोकेर आउँछन्, भएको जमिन पनि बेचेर उपचारमै सकिन्छ,' उनी चिन्ता व्यक्त गर्छन्। उनलाई लाग्छ, पढे-लेखेका युवाहरू गाउँमै बसेर माटो खने देश साँच्चै फेरिन्थ्यो। 'मलाई त खेतीपाती भन्दा ठुलो केही लाग्दैन, तर अहिले कमाउने मान्छे नै छैनन्,' उनी विरक्तिन्छन्।

    मकरनाथले एउटा गहिरो सत्य बोले। 'यो सम्पत्ति कसैले लाने होइन, हात र मन खुला राख्यो भने मात्रै शान्ति पाइन्छ,' उनी भन्छन्। देशको राजनीतिक खिचातानी देख्दा उनलाई अचम्म लाग्छ। 'हामी एउटै सन्तान हौँ, रगत एउटै छ, सरकारले पनि मिलिजुली चलाओस्,' उनको यो आग्रहमा एउटा अनुभवी वृद्धको ठुलो आशा लुकेको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij