ललितपुर। हातमा बन्दुक थियो। छातीमा देशप्रतिको गर्व। करिब १५ वर्ष उनी ब्यारेकको कडा अनुशासनमा बाँधिए। राष्ट्र सुरक्षाका लागि चौबिसै घण्टा खटिए। जागिर सकियो। रिटायरमेन्टको कागज हातमा पर्नासाथ साथीभाइले उनलाई घेरे। सबैको एउटै दबाब थियो, 'लौ न यार, अब त विदेश जाऊँ। उतै पैसा छ, उतै भविष्य छ।'
उनलाई खाडीको त्यो तातो घाम भन्दा आफ्नै गाउँको चिसो र कञ्चन पानी प्यारो लाग्यो। लाखौँ कमाउने लोभमा राहदानी (पासपोर्ट) बनाउन लाइन लाग्नेहरूको भीडबाट अलगिएर उनी सिधै आफ्नो गाउँ फर्किए। अनि माटो खन्न थाले।
सैनिक जीवनको बन्दुक समात्ने ती हातहरूले जब गाउँको माटो र पानी छामे, तब उद्यमको एउटा लोभलाग्दो कथा जन्मियो। हो, उनी हुन् ललितपुर महाँकाल गाउँपालिका वडा नम्बर ३ का सोम बहादुर स्याङतान।
धेरैका लागि सैनिक जागिरपछिको जीवन भनेको आराम गर्ने समय हो। सोम बहादुरलाई पनि नफकाएका होइनन्। तर उनलाई त गाउँकै माटो र परिवारले बाँध्यो। उनी भन्छन्, 'विदेशमा गएर १२-१५ घण्टा घोटिएर महिनाको लाख रुपैयाँ कमाउनु भन्दा, आफ्नै घरपरिवारसँग बसेर, मिठो-नमिठो जे छ सँगै खाएर स्वदेशमै ५० हजार कमाउनु धेरै ठुलो कुरा हो।' यही अठोटले उनलाई खाडी जानबाट रोक्यो र आफ्नै गाउँको माटोमा पसिना बगाउन प्रेरित गर्यो।
सेनाबाट फर्किएपछि सोम बहादुर सिधै सफल भएका भने होइनन्। उनले सुरुमा दुई वर्ष गाई पाले, दूध बेचे। तर बजारले धोका दियो र समयमा दूधको पैसा पाउन छाडेपछि उनले आफ्नो बाटो मोडे। हार नखाई उनले ५ वर्षसम्म ललितपुरकै दलचोकीमा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा काँक्रो र तरकारी खेती गरे। आफैँ गाडी चलाएर तरकारी काठमाडौंको बजारसम्म पुर्याए। मेहनत जारी थियो, तर मनमा अझै केही नयाँ र दीर्घकालीन गर्ने हुटहुटी थियो।
त्यही बेला उनको नजर गाउँकै 'ठोस्ने खोला' मा पर्यो। खोलाको चिसो र सफा पानी निरन्तर बगिरहेको देखेपछि उनको मनमा एउटा सुन्दर सपना पलायो यहाँ 'रेन्बो ट्राउट' माछा पालन किन नगर्ने? सुरुवात सोचे जस्तो सजिलो थिएन। हातमा पर्याप्त पुँजी थिएन र माछा पाल्ने कुनै प्राविधिक अनुभव पनि थिएन। तर सैनिक जीवनले उनलाई एउटै कुरा सिकाएको थियो— मैदान छोडेर कहिल्यै नभाग्नु।
त्यही हिम्मत बोकेर उनले पोखरी खने। आज उनको पोखरीमा 'रेन्बो ट्राउट' माछाहरू खेलिरहेका छन्। व्यवसाय सुरु गरेको एक वर्ष मात्र भयो, तर उनको यो कर्मले 'देशमै केही गर्न सकिन्छ' भन्ने बलियो उदाहरण पेश गरेको छ।
नयाँ व्यवसाय भएकाले अहिले चुनौतीहरू पनि नयाँ नै छन्। सोम बहादुर आफ्ना अप्ठ्याराहरू सुनाउँदै भन्छन्, 'अहिले हामीसँग माछा सम्बन्धी प्राविधिक ज्ञान र तालिमको कमी छ। भुरा पनि अन्तैबाट किनेर ल्याउनुपरेको छ। यदि हामी आफैँले भुरा उत्पादन गर्न सके धेरै राम्रो हुन्थ्यो।'
महँगो दाना अर्को समस्या हो। बजारबाट दाना खरिद गर्दा लागत बढी पर्ने हुनाले उनी भविष्यमा 'दाना बनाउने मेसिन आफैँले खरिद गरेर गाउँमै दाना उत्पादन गर्ने' योजनामा छन्। वर्षायाममा खोलामा आउने धमिलो पानीबाट माछालाई बचाउनु उनका लागि अर्को ठुलो युद्ध जिते सरह हुन्छ।
अहिले उत्पादित माछा गाउँघर र काठमाडौँका चिनेजानेका साथीभाइले नै खोसाखोस गरेर लान्छन्। सोम बहादुरको यो हिम्मतलाई महाँकाल गाउँपालिकाले पनि ५० प्रतिशत अनुदान दिएर बलियो साथ दिएको छ। आधी लगानी सरकारको, आधी उनको आफ्नै छ। साना उद्यमीका लागि सरकारले यसरी ५० प्रतिशत अनुदान दिनु 'निकै प्रभावकारी र सन्तोषजनक' रहेको उनी बताउँछन्।
उनी भन्छन्, 'सरकारले गर्दै नगरेको होइन, गरिरहेको छ। तर, हामी व्यवसायी आफैँले पनि अलिकति चासो राखेर आफ्नो समस्या सरकारलाई दर्शाउन सक्नुपर्छ।' वास्तवमै, महाकाल गाउँपालिका कृषि र पशुपालनको प्रचुर सम्भावना भएको क्षेत्र हो। पालिकाले अहिले ठोस्ने खोलाको पानी उपयोग गर्दै सहकारीहरूसँगको साझेदारीमा माछा पालनलाई विशेष प्राथमिकतामा राखेको छ। सोम बहादुर त्यसकै एउटा सुन्दर र जीवन्त उदाहरण हुन्।
आज देशका युवाहरू पासपोर्ट बोकेर विदेशिने लर्कोमा लागेको देख्दा देशको रक्षा गरेका यी भूपू सैनिकको मन छुन्छ। उनी भन्छन्, 'उमेर छँदा युवाहरू विदेश जानु, घुम्नु र त्यहाँको नयाँ प्रविधि सिक्नु राम्रो कुरा हो। तर, त्यहाँ सिकेको सीप र प्रविधि ल्याएर लगानी आफ्नै देशमा गर्नुपर्छ। देशमा केही छैन भनेर पलायन हुनु गलत हो।'
नेपाली युवाहरूमा एकैचोटि ठुलो उपलब्धि खोज्ने बानी रहेको औंल्याउँदै उनी सानो कामबाटै सुरुवात गर्न सुझाव दिन्छन्। उनी भन्छन्, 'हाम्रो बानी चाहिँ एकैचोटि ठुलो भाग खोज्ने खालको छ। तर सानो-सानो कामबाट सुरुवात गर्यो भने नहुने भन्ने केही छैन। दुई वर्ष, चार वर्ष वा पाँच वर्ष लाग्ला, तर अवश्य हुन्छ।'
हिजो देश रक्षाका लागि हातमा बन्दुक बोकेका यी सैनिक, आज देश ब्युँझाउन पोखरीमा माछाको दाना छरिरहेका छन्। उनी केवल माछा मात्र पालिरहेका छैनन्, यो देशकै माटोमा सम्भावनाको एउटा सुन्दर भविष्य पालिरहेका छन्।


