काठमाडौं । हाम्रा नेता कारैमा सररर... हामीलाई भने दुर्गन्ध हररर...
उनी हुन्, नुवाकोट ककनीकी बासिन्दा संगीता ढुंगाना । उनी हेटौंडाबाट बिवाह गरेर ककनी आएको पनि २२ बर्ष भइसक्यो । विवाह गरेको ठ्याक्कै दुई वर्षपछि आफ्नो गाउँ बस्नै नसक्ने गरी दुर्गन्धित बन्यो । त्यसदिनदेखि यता उनलाई अहिले त्यहाँ बस्दा उकुसमुकुस हुन्छ ।
धेरै गाह्रो हुन्छ खाना खाने बेलामा पनि कहिले काहिँ त भाग नै छोडेर उठ्नु पर्छ बान्ता आउँछ । यहाँ त धेरै जसोलाई क्यान्सर भएको नै पाइन्छ कहिले काहिँ त म आफैलाई पनि क्यान्सर भए जस्तो हुन्छ, उनको दुखेसो छ । बिहान बेलुका त झन घरमा बस्न नसक्ने गरि झिंगा आउँछ । तरकारीहरु पनि राम्रो उत्पादन हुँदैन, उनले भनिन् । यसरी दुर्गन्धित स्थानमा वर्षौदेखि बस्दा पनि स्वास्थ्य जाँच गर्न उनलाई कत्ति पनि जाँगर चलेन । उनी भन्छिन्, जाँच्न गएकै छैन, पैसाको नै कुरा आउँछ, पैसा छैन, धेरै गाह्रो छ ।
ल्याण्डफिल साइट बन्यो ककनीबासीलाई अभिशाप
त्यसस्थान छोड्न उनलाई अहिले पारिवारिक दबाब छ । छोरा छोरी पनि अब त नबसौँ भन्छन्, रोग लाग्यो भने घर जग्गा बेचेर पनि उपचार खर्च जुट्ला जस्तो लाग्दैन्, उनले भनिन् । उनले यहि फोहरका कारण जिन्दगी जिउनै गाह्रो भएकाले यो गीत गाउन मन लाग्ने बताउँछिन् ।


