Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

'राणाकालमा आफूले नपढी भाइलाई पढाएँ'

'राणाकालमा आफूले नपढी भाइलाई पढाएँ'

बुधबार, असार १८ २०८२
बुधबार, असार १८ २०८२

  • काठमाडौं । ८२ वर्षका बलराम अधिकारीलाई एक सालमा सिन्धुपाल्चोक इन्द्रावतीमा जन्मेको कुरा थाहा छ । विगत ९ वर्षदेखि काठमाडौंको आरुबारीमा आफ्ना छोरासँग उनी बस्दै आएका छन्। ८ दशक पार गरिसक्दा पनि उनलाई आफ्ना पुराना दिनहरुको स्मरण छ । शहरमा बसे पनि गाउँको सम्झनामा रमाउँदै उनले आफ्नो पुरानो दिन यसरी सम्झन्छन् । 

    images

    “गाउँ छोड्न मन थिएन, तर बुढो ज्यान, बुढी पनि काम गर्न नसक्ने अनि छोराहरू सबै शहरमा भएकाले बाध्य भएर काठमाडौं आएको हुँ।” उनका अनुसार पहिलाको जीवन भनेको खेतीपातीमै रमाउने, मेहनत गर्ने, तर सन्तोषमा बाँच्ने थियो। छोराहरूलाई पनि खेतीकै भरमा एसएलसीसम्म उनले पढाएका रहेछन् ।

    “मैले त पढ्न पाइनँ, भाइलाई पढाएँ, भाइ मास्टर बनेर अहिले निवृत्तिभरण लिँदैछ,” बलराम अधिकारी भन्छन् । गाउँमा जग्गा जमिन थियो, फेरि पनि छोराहरुकै लागि भनेर आफ्नै कमाइले थोरै जग्गा जोडेँ, तर अहिले ती सबै बाँझा छन्। “हुन त बाँझो जग्गामा केही उब्जनी गरे बाँदरले नास गर्छ, कमाइ पनि छैन,” उनले दुःख व्यक्त गरे।

    बलराम अधिकारीले पुराना दिनहरू सम्झँदै भने, “चाडपर्वमा नभएका सामान ल्याउन बजार जानुपथ्र्यो, तर बजार पनि हिँडेरै जान्थ्यौं । गाडी त चल्दैनथ्यो। अनि गाडीको सुविधा आएपछि मैले पनि चढेँ, चढेको दिन कसैले देखे फुर्ति लाउनुहुन्थ्यो जस्तो लाग्थ्यो ।” 

    काठमाडौंमा पहिलो पटक पाइला टेक्दा, दुई दिनसम्म पाटीमै सुतेको नमिठो अनुभव बलरामसंग छ । उनले भने, “काम पाइन्छ कि भनेर आएको थिएँ, अनि दुई दिन धान काट्ने मेलो पाएको थिएँ, त्यसबापत पाँच रुपैयाँ बोकेर घर फर्किएको थिएँ।” त्यति बेला एक दिनको ज्याला दुई रुपैयाँ मात्रै हुने गरेको उनले बताए।

    “दशैंमा मात्रै नयाँ लुगा लगाइन्थ्यो, फाटेका लुगा टालेर लगाउनु पर्दथ्यो,” उनले भने । पहिला गाउँमा गाईभैंसी पालेर, आफ्नै खेतको अन्न खाएर बसेको दिन सम्झँदै उनले भने, “दूधको लिटरको मूल्य ६,७ रुपैयाँ मात्रै पर्दथ्यो, चामल पनि किन्नु पर्दैनथ्यो।” सबै ठिकठाकै चल्दैथियो, तर सानै छँदा उनका आमा र बाबुको निधनपछि आफूलाई धेरै गाह्रो भएको बताउँछन । बुबा बित्दा, उनी मात्रै १२ वर्षका थिए ।                                                                      

    'म घरको काम गर्न सक्दिनँथें, गर्न पनि आउँदैनथ्यो। घरको जिम्मेवारी आफ्नो काँधमा आयो, सानैमा आफूले पढ्नुभन्दा बरु भाइलाई पढाएर हुर्काउने मनस्थिति बनाए”। दिनहरु जसोतसो बितिरहेकै थियो । घरमा अप्ठ्यारो भएकैले उनले विवाह गर्ने निर्णय लिए । विवाहको प्रसंग आउँदा उनी स्मरणमा हराए, “पहिला माग्न जाँदा बेहुलीलाई देख्न पाइँदैनथ्यो, विवाहकै दिन मात्रै देखिन्थ्यो। बिहे गरेर ल्याउँदा एक रात बास बस्नुपथ्र्यो। लाजले बोल्न पनि सकिन्नथ्यो, हामी त ३–४ महिना पछि मात्रै बोल्न थाल्यौं ।”

    पहिला झगडा र सानातिना मनमुटाव पनि उनले सम्झिए “एकछिन झगडा, एकछिनमै मिल्ने। अहिले पनि कहिलेकाहीँ त्यस्तै हुन्छ। पुराना झगडा सम्झेर अहिले हाँसो उठ्छ ।”

    आजको समय अघिल्लो पुस्ताभन्दा निकै परिवर्तन भएको उनले महसुस गरेका छन्। “पहिला कानुन पनि कडा थियो, कुरा राख्न पाइँदैनथ्यो, अहिले भने आफ्नै विचार राख्न पाइन्छ,” बलरामले भने। राजनीतिप्रति गुनासो गर्दै उनले भने, “अहिलेका नेताहरू बेइमान छन् ।”

    “म त पहिला घरको काम भन्दा नी बाहिरको काम गर्‍थेँ, साथी भाईहरु पनि धेरै हुदैन थिए, किनभने धेरै बोल्न पाइने समय थिएन् । उनले भने, 'राणाकालमा बोल्नै पाइँदैनथ्यो । मिथ्या कुरा बोल्यो भनेर थुन्थे । पढ्न पनि नपाउने भएकाले पहिला हाम्रो पालामा भन्दा अहिलेको समय उत्कृष्ट लाग्यो ।'


    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij