Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

दृष्टिविहीनका सन्तानहरूमा मस्कुलर डिस्ट्रफी हुनुको व्यथा

दृष्टिविहीनका सन्तानहरूमा मस्कुलर डिस्ट्रफी हुनुको व्यथा

बुधबार, साउन १४ २०८२
बुधबार, साउन १४ २०८२
  • काठमाडौं । एक चर्चित स्थान, बुढानीलकण्ठ जहाँ प्रधानमन्त्रीको कुर्चीमा पटकपटक बसिसकेका शेरबहादुर देउवाको निवास छ । नेपाली काँग्रेस सभापति देउवा आफ्नो जथ्थासहित चिल्ला गाडीसँगै दिनहुँ त्यहीका चिल्ला सडकमा ओहोर दोहोर गरिरहन्छन् ।

    images

    उनै देउवा निवास नजिकै उनैले नदेखेको एउटा कथा छ । देउवा निवासको छिमेकैमा दुइतल्ले सेतो रंगको घर माथि छतमा एउटा टिनले बारेको कोठा छ । त्यहीँ भेटिन्छन्ः अधिकारी परिवार । अधिकारी परिवारका ५ जना सदस्य अटाएको त्यही कोठामा असारको दोस्रो साता हामी पुग्यौं । त्यहाँ जे देख्यौं यहाँ शब्दमा व्याख्या गर्न कठिन छ । आफ्नो समयले ल्याएको अँध्यारो हुरीको जगजगीमा पनि हिउँजस्तो उज्यालो छर्केर बसिरहेको अधिकारी परिवार देख्दा हामी एकछिन स्तब्ध भयौं । 

    प्रेमराज अधिकारी, एक सफल रेष्टुरेन्ट व्यवसायी । इलामको रोङ- ३ मा २०३९ सालमा जन्मिए । उतै हुर्किए । उहिलेको एसएलसी परिक्षामा इलामबाटै उत्तीर्ण भएलगत्तै उनी सपनाको शहर काठमाडौं छिरे । आफ्नो करियर यतै अघि बढाए । एमबिए सम्मको पढाइ पनि पुरा गरे । काठमाडौंको ठमेलस्थित किलरोइज रेष्टुरेन्टमा म्यानेजरका रुपमा काम गरे । त्यो समयमा नेपालमा गाइँगुईं राजनीतिक परिवर्तनका हल्ला चलिरहेका थिए । त्यसैबीच २०५८ साल जेठ १९ मा संसार नै हल्लाउने एक खबर आयो । तत्कालीन राजा बिरेन्द्रको बंश नाश हुने गरी हत्या भयो ।  त्यो घटनाले प्रेमराज पनि बिचलित भए । उनलाई नेपालमा बस्न मन लागेन । परिवारले नमान्दा-नमान्दै उनी रेष्टुरेन्टमै कामगर्ने गरी दुबइ गए । केही वर्षपछि नेपाल फर्केका प्रेमले आफ्नै रेष्टुरेन्ट व्यवसाय चलाए । त्यही शिलशिलामा फेरि युरोपको माल्टामा पनि प्रेमले थ्रीस्टार होटलमा काम गरे।
    ...
    जीवन ठिकठाक चलिरहेको थियो । प्रेमराज असाध्यै खुशी थिए । परिवारले विवाहको कुरा गरे । २७ वर्षको लक्का जवान प्रेमले सहजै स्वीकार गरे । नेपालमा पछिल्लो पटक चलेको जनआन्दोलनताका नेपाल फर्केका प्रेमले २०६२ फागुन ८ गते हेटौडाकी मिना पराजुलीसँग मागी विवाह गरे ।

    विवाहपछि बाजेको सेकुवा, 'राइस एण्ड बोल' लगायतका चर्चित रेष्टुरेन्टमा म्यानेजरको रुपमै काम गरे । सिसाको निर्यात गरे । कार्गो चलाए । जीवनमा खुशी नै खुशी थियो । विवाह गरेको एक वर्षमै उनको जीवनमा अर्को खुशी थपियो । २०६३ चैत ५ गते छोरा जन्मिए । उनी पहिलोपटक बुवा बने । श्रीमती मुना हेटौंडामा रहेका बेला बच्चा जन्मेको फोनले प्रेमको मन खुशीले ढक्क फूलेको थियो । रातारात हेटौंडा पुगेका प्रेमले पहिलोपटक छोरालाई काखमा लिँदाको क्षण निकै सुन्दर थियो । सन्तान प्राप्तिपछि अधिकारी दम्पतीले एकले अर्कालाई हार्दिकता पोखे । नयाँ जिम्मेवारी सहितको शुरुवात भन्दै छोरोको नाम नै आरम्भ राखियो । 
    ...
    जीवन राम्रै चल्दै थियो । उनीहरुले अर्को बच्चाको योजना बनाए । ठिक पाँच वर्ष २०६८ सालमा अर्को छोरा पनि जन्मिए । परिवारमा खुशीको माहोल चलिरहेको थियो ।  त्यही बेला प्रेमराज बुवाको उपचारका क्रममा जेठो छोरा आरम्भलाई पनि साथमै लिएर धापाखेलको सुमेरु अस्पताल पुगे । बुवाको उपचार गर्ने डा. लक्ष्मण खड्काले आरम्भको हिँडाइमा समस्या देखेपछि जाँच गराउनु है डिएमडी हुनसक्छ भनेपछि प्रेमराज झसंग भए । उनको मनमा झट्का लाग्यो । चेकजाँचका क्रममा २०७० सालमा बच्चालाई ड्यूचेन मस्कुलर डिस्ट्रफी भएको पत्ता लाग्यो । 
    ...
    केही समयमै सानो छोरा अध्यायलाई पनि त्यही रोग भएको प्रमाणित भयो । प्रेमराजलाई आर्थिक रुपमा अप्ठेरो थिएन ।  परिवारलाई पुग्ने पैसा उनले कमाइरहेकै थिए । त्यसकारण उनले हिम्मत हारेनन् । नेपाल र भारतका थाहा पाएजतिका डाक्टर भेटे ।

    भोलि कसैले देखेको हुँदैन । कमाउँदै छोराहरुको सक्दो उपचार गरिरहेका प्रेमका आफ्नै आँखामा समस्या देखियो । अलिअलि कमजोर बन्दै गएका प्रेमका आँखा सन् २०१५ ताका झन धेरै धमिलिन थाले । उनका आँखामा रेटिनाइटिस पिग्नेन्टोसा भएको पत्ता लाग्यो । यो रोग पनि आनुवांशिक र निको नहुने रोग रहेछ । त्यसपछि पनि प्रेमले पैसाकै जोडबलमा नेपाल भारतका विभिन्न अस्पतालमा उपचार गराए । युट्युबमा भिडियो देखेपछि भारतको उज्जैन गएर पनि उपचार गराए । सक्ने जति खर्च गरे । तर, अन्तिममा आफ्ना आँखा पनि निको नहुने भएपछि उनी थाकेर बसे । 
    ...
    भनिन्छ नि समयजति बलवान केही छैन । जीवनभर कमाएको धन सम्पत्ति र आत्मविश्वास प्रेमराजले केही वर्षमै गुमाए । सन् २०१८ ताका उनी पूर्णरुपमा रित्तिए । आफ्नो बास बस्ने घरसमेत बेचेपछि उनी करोडपतिबाट रोडमा आए । 
    समयका अघि हारिसकेका प्रेमराज अन्तिममा फेरि बुढा भइसकेका आफ्ना आमाबुवाको शरणमा पुगे । अर्थात् बुवाआमा बसिरहेको बुढानीलकण्ठमा रहेका घरमा फेरि परिवारसहित बस्नुपर्‍यो ।  
    ... 
    कोरोना महामारीपछि पूर्ण रुपमा थन्किन पुगेका अधिकारी परिवारसँग अहिले केही छैन । बा-आमाको घरको छतमा एक कोठाको टहरो अनि जहाँ उनीहरुले भाडा तिर्नुपर्दैन ।  विगत एक वर्षदेखि ओछ्यानमै सिमित रहेका अधिकारीका दुई छोरा र स्वयंम् प्रेमराज पूर्णतः श्रीमती मुनामा निर्भर छन् । अधिकारी दम्पती अहिले पूर्णतया सहयोगमा निर्भर छन् । छोराहरुलाई उच्च पोषण आवश्यक छ । उपचारभन्दा बढी पोषणमा खर्च भइरहेको छ ।  

    आफूसँग पैसा हुँदा शुरुमा प्रेमले आफ्ना भयानक दु:ख कसैलाई भनेनन् । पैसाले जस्तो उपचार गर्न सक्छु भन्ने उनमा आत्मविश्वास थियो । अहिले उनीसँग आत्मविश्वास पनि डग्मगाएको छ । भगवानलाई असाध्यै मान्ने प्रेमराज, भगवानसँग त्यो आत्मविश्वास भने मागिरहन्छन् । 
    ... 
    पूर्णतः आमामा निर्भर रहेका प्रेमका दुई छोरा पनि झट्ट हेर्दा बिरामी जस्ता छैनन् । उज्यालो अनुहार, चम्किला आँखामा आत्मविश्वास झल्किन्छन्। आइटी इञ्जिनियरिङमा सपना देखेका जेठो छोरा आरम्भ अहिले पनि आफ्नो ओछ्यानमै बसेर भए पनि भिडियो सम्पादन, एनिमेसन लगायतको काम गर्छन् । सानो छोराले पनि कम्प्युटरमा अनलाइन गेमहरु असाध्यै चासोका साथ खेल्ने गर्छन् ।

    उनीहरुलाई थाहा छ चलिरहेका आफ्ना हातहरु पनि केही समयपछि चल्न छोड्ने छन् । बिस्तारै अलिअलि चलिरहेका आफ्नो शरीर झन कमजोर बन्दै जानेछ ।  तर, पनि उनीहरुमा आत्मविश्वास छ । 
    ...
    अधिकारी दम्पतीसँग ११ वर्षकी छोरी पनि छिन् । सकुशल सन्तान जन्माउने एक मात्र आशले उनीहरुले छोरी जन्माएका थिए । उनीहरुले सोचेजस्तै छोरी सकुशल छिन् । अधिकारी दम्पत्तिकालागि मात्रै होइन दुई दाजुकी एक्ली बहिनी अतिथि आशा र भरोसाकी केन्द्र हुन् । जीवनका सबै रंगको अनुभूति गरिसकेका प्रेमराजलाई अब छोरीको स्वास्थ्यमा पनि केही समस्या आउँछ कि भन्ने पिर लाग्छ । 
    सुख, दु:ख, धन सम्पत्ति सबै अनुभूति गरिसकेका प्रेमराज, अहिले रित्तिसकेका छन् । रित्तिनु र भरिनु समयको चक्र हो । तर, रित्तिएर पनि भरिएजस्तै आत्मविश्वाश हुनु सबैभन्दा ठूलो कुरा हो । अधिकारी परिवारको आत्मविश्वास कहिले नघटोस् ।  

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij