Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

फोहरभित्र राजनीति

'छोराले आफ्नै बुबाको श्राद्ध गर्दैनन्'

'छोराले आफ्नै बुबाको श्राद्ध गर्दैनन्'

शुक्रबार, जेठ ९ २०८२
शुक्रबार, जेठ ९ २०८२

  • काठमाडौं । लुगा बाँध्न नसक्ने उमेरमा बिहे गरेर नुवाकोट ककनी गाविस आएकी सावित्री घिमिरे । सानै बेलादेखि गृहस्थी सम्हाल्ने जिम्मेवारी पाएकी सावित्री यतिबेला भने एक्लिएकी छिन् ।  

    images

    उनी नौ वर्षको हुँदा नजिकैको कुमारी गाविसबाट बिहे गरेर ककनी आएकी थिइन् । 'त्यत्तिबेला छोरा बिकाउन धेरै गाह्रो हुन्थ्यो । म ९ वर्षको हुँदा मेरो श्रीमान म भन्दा १६ वर्ष जेठा थिए । मलाई मेरा श्रीमानले खोलानाला तर्ने बेला मलाई च्यापेर ल्याएको सम्झना अहिलेसम्म छ', उनले बितेका सम्झना पोखिन् ।  

    नेता कारैमा सरर...ककनीलाई दुर्गन्ध हरर... नेता कारैमा सरर...ककनीलाई दुर्गन्ध हरर...


    बिहेका सुरुका केही वर्ष सावित्रीको आफ्नो श्रीमानसंग बोलचाल समेत भएन । ‘श्रीमानले म संग एउटा बच्चा नहुन्जेल बोलेनन् । म त नछुने भएको १६ वर्षमा हो । त्यही भएर बच्चा ढिलो भयो ।’ बिहे भएको नौ वर्षपछि बल्ल सावित्रीको पहिलो छोरी जन्मिएकी थिइन् । पहिलो तीन छोरीपछि बल्ल छोरा जन्मियो । तर पहिलो छोरा वितेपछि फेरि अरु बच्चा जन्माउन उनी बाध्य भइन् । उनले भनिन्,' मैले आठ जना बच्चा जन्माएँ । ६ जना बाँचे । छोरा छ भने हुर्काउने र छोरी जन्मिए मिल्काउने चलन थियो पहिला पहिला ।'


    उनी त्यतिबेलाको परिस्थिति सम्झिन्छिन्, 'छरछिमेककै लागि मैले छोरा पाउनुपर्ने दबाब थियो । छोराछोरी बढी भएर पनि मलाई खासै केही सुख भएको छैन । दुई सन्तान ईश्वरको बरदान हुने रहेछ । तर हामीलाई कसले सम्झाउने ?'

    पहिला पहिला सावित्रीलाई जीउभरि लगाएर, पेटभरि खान पाउने अवस्था थिएन । पहिले सासुहरुले बुहारीलाई देख्नै नसक्ने अवस्था रहेको उनी दुखेसो पोख्छिन् । उनी भन्छिन्, 'त्यति सानो उमेरमा म मेला जान्थेँ । आफ्नो लुगा लगाउन त नसक्ने अवस्थामा कता कता गएर डोकोमा गाग्री बोकेर जानुपर्दथ्यो । तर अहिले समय बदलीसक्यो, अहिले सासुलाई बुहारीसंग डर हुन्छ ।'


    बालखैमा आएको यो गाउँ सावित्रीलाई अहिले नर्क जस्तै लाग्न थालेको छ । ककनीमा फोहोर फाल्न थालेपछि उनलाई यहाँ जीउनै सकस भइसकेको बताउँछिन् ।'बुढाहरुले फोहोर यता फाल्न दिए के के न होला जस्तो गरेथे । हामीलाई त यहाँ बस्न गाह्रो भइसक्यो । नाती नातिना आउँदा लामखुट्टे र झिंगा देखेरै तर्सन्छन्', उनी भन्छिन् ।' आफ्नो पुर्खौली सम्पत्ति भएकाले यो स्थान छोड्न सकिएन । छोराहरु जन्मघर नै छोडेर अन्यत्र बसेका छन् यही फोहरका कारण । आफू एक्लै घर कुरुवा बसिएको छ । सस्तो भाउमा सरकारले खेतीपातीको जग्गा लिए । पहिले के के न होला जस्तो भयो तर अहिले नरकमा आएर डुबेको जस्तो भयो ।'

    उनलाई थालमा राखेको खाना मुखमा राख्न समस्या भएको धेरै वर्ष भयो । 'कहिले राती त कहिले खाना खाने समयमा लिचेट खोलिन्छ । त्यत्तिबेला दुर्गन्धले खपि साध्य नै लाग्दैन्', उनी नाक खुम्च्याउँदै भन्छिन् ।  

    आफ्नो श्रीमानलाई सम्झिँदै भन्छिन्, 'मेरो श्रीमान बितेको सात वर्ष भयो, फोक्सोको क्यान्सरका कारण । मेरो जग्गा अधिग्रहणको बिस तीस लाख पैसा पनि डेढ वर्षको उपचारमा सिद्धियो । पैसा नी सिद्धियो, मान्छे पनि जानुभो । मेरो मात्रै होइन, यहाँका सबै घरमा एक न एक जना क्यान्सरकै विरामी छन् । हामीलाई त्यस्तो समस्या हुँदा पनि हामीलाई सरकारबाट केही सहयोग छैन ।'

    भन्ने हो भने उनलाई पैसा गन्न पनि आउँन्न, श्रीमान वितेपछि घर एक्लै सम्हाल्नुपर्दा उनलाई भएको समस्या उनीसंग छ । अहिले यो स्थानमा छोराहरुको बिहेवारी गर्न गाह्रो हुन्छ अनि छोरीहरुको भने सजिलैले विवाह हुने अनुभव उनी सुनाउँछिन् । आफ्ना सबै छोराछोरी ककनीबाट पलायन भएकाले अहिले सावित्री एक्लै छिन् ।

    'म एक्लै यहाँ मरिहालेँ भने पनि कसैले पत्तै पनि पाउँन्न । परिवारका सदस्य नै नभएपछि के गर्नु ? गरिखाने वातावरण नै नभएपछि बच्चाहरु घर छोड्न बाध्य भए ।'

    'मलाई एकल भत्ता आउँछ, मलाई दमको औषधि खानुपर्छ । भत्ताको पैसा औषधि किन्न त पुग्दैन, श्रीमानको वार्षिक श्राद्ध, दशैँतिहार लगायतका चाडपर्वको खर्च धान्न गाह्रो छ । यहाँ त मेरो परिवारमा के सम्म छ भने, बुबाको श्राद्ध गर्न पनि छोराहरु आउँदैनन् । श्रीमानको श्राद्ध मेरा देवरले गर्छन ।'

    उनको यो हालत राज्यबाट उचित सहयोग र समन्वयको अभावको नतिजा हो । सेनेटरी ल्याण्डफिल साइट र बस्तीबीच हुनुपर्ने सावधानीका कुरामा राज्य चुकेकै कारण अहिले ककनीबासीले राज्यविहीन भएको अनुभव गरिरहेका छन् । 'हाम्रो यो बस्ती उठाइदिएदेखि बरु जिन्दगी बित्थ्यो होला । मेरो त बित्यो तर अहिलेका बालबच्चालाई यो स्थानमा धेरै गाह्रो छ । गरी खाउँ भने सरकारले जग्गा अधिग्रहण गरिसक्यो, सानो ठाउँमा केही गर्न सकिन्न । भएको घरखेत पनि सरकारले नै उठाओस, ता कि हामी अरु ठाउँमा गएर बस्न सकौं', उनको आक्रोस छ ।

     

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij