काठमाडौं । २५ वर्षीय युवा शिवराम बलामीको काँधमा सम्पूर्ण परिवारको आर्थिक र व्यवहारिक कार्यभार छ । केही समयअघि मात्रै कृषिमा जिटिए गरेका शिवरामलाई घर परिवार मात्रै होइन, आफ्नै सहोदरहरुबाट केही गर्न र केही देखाउन मनोसामाजिक दबाब परेको महसुस उनी गर्छन् ।
उनको जन्मस्थान नुवाकोटको ककनी गाविस वडा नं १ हो । कृषिमा पढाइ सकिएपछि उनले विदेश जाने भन्ने कुरा आफ्नो मनमस्तिष्कमा कहिल्यै ल्याएनन् । उनलाई सँधै लाग्यो, 'आफ्नै देशमा आफ्नै भूमिमा केही गर्नुपर्छ ।' यही सोचमा हुर्किँदै गरेका शिवरामलाई अन्ततः थोरै लगानीमा त्यहीँको आठ रोपनी खाली तर उब्जाउ जग्गा भाडामा लिने कुरा आयो । लगानी थोरै भएपनि आफ्नो मेहेनतले माटोमा लगाएको पैसा फिर्ता मात्रै ल्याउने होइन, यसैमा भविष्य कोर्ने सपना शिवरामले देखे
'छोराले आफ्नै बुबाको श्राद्ध गर्दैनन्'
त्यही अनुरुप उनले लोकल र हाइब्रीड, काँक्रो, नगदे बालीअन्तर्गत धानखेती, गोलभेडा खेती गर्न सुरु गरे । उनी भन्छन्, 'मैले यहाँ लगभग ८ रोपनीमा खेती गरिरहेको छु । वर्षको ५० हजार तिरेर मैले यो जग्गा पाँच वर्षको लागि भाडामा लिएको छु । सडक नजिकै भएर ढुवानी खर्च कम लाग्ने हिसाब गरेरै मैले यति महंगो तिरेर जग्गा भाडामा लिएको हुँ । एक्लैले नै खेती गर्दैछु ।'
उनलाई यो खेतीपातीमा आफ्नै परिवारले सघाउँछन् । केही समय अघि मात्रै बिहे गरेका उनले आफ्नो श्रीमतीको साथ पनि पाएका छन् । त्यसैले त हौसला बढेको छ, माटोमा पसिना चुहाएर कर्म गर्नका लागि ।
उनका अनुसार लोकल काँक्रो त्यहाँ निकै महंगोमा विक्छ । उनीसंग भक्तपुरको लोकल जातको काँक्रो र हाइब्रीड दुईवटै छन् । लोकल र हाइब्रीड काँक्रोको मूल्य नै फुरक छ । लोकल काँक्रो अलि महंगो पर्छ । हाम्रो बजार त यहीँ नै भयो, त्यसबाहेक माछापोखरीस्थित तरकारी बजार पनि हो ।
उनलाई यतिबेला बिउ उत्पादनमा भने समस्या भएको छ । बिउ आफ्नै खेतमा उत्पादन हुन सके उनले महिनामा कमाउने फाइदा दिनमै कमाउँथे होला । शिवरामको गुनासो छ, 'हामीसंग प्राविधिक ज्ञान छैन । किनभने बिउका लागि आइसोलेशन डिसटेन्स व्यवस्था गर्नुपर्ने हुन्छ । यहाँ त्यही भएर बिउ उत्पादन सम्भव नै छैन । पढाइका कारण कृषिमा धेरै सहज भएको उनको अनुभव छ । कृषिमा हुन सक्ने रोगका बारेमा ज्ञान भएकाले मलाई माटोको लगानीबाट फाइदा कमाउन सजिलो भएको छ' , उनी बताउँछन् ।
'काँक्रो खेती विशेषगरी तीन महिनाका लागि हो । त्यसपछि म नगदेबालीमा लाग्छु । जस्तै धान खेती गर्छु । म यहाँ खुला खेतीमा लागेको किसान हुँ । टनेल बनाउने गरेको छैन । सुरु सुरुमा काम गर्दा लगानी कम भएकैले टनेल खेती गर्न नसकिएको हो, अहिले महिनामा मैले एक लाख कमाउने गरेको छु । कृषिमै पढाइ रहेकाले मैले माटोमा प्राविधिक र आर्थिक लगानी गरेको हुँ', शिवराम सविस्तार लगाउँछन् ।
उनी नेपालमै उद्यम गर्ने बताउँछन् । विदेश गएर गर्ने पनि यही मेहनत हो भन्ठान्छन् उनी । ककनीमा विशेषगरी यो फोहरका कारण युवालाई धेरै समस्या भएको सुनाउँछन् । कृषिमै पनि फोहरका कारण हुने वायू प्रदुषणले विभिन्न रोग आएको छ । एउटा बोटबाट अर्को बोटमा रोग सार्ने किराहरु बढी सक्रिय भएको कारण अलि अलि सताएकै छ ।
'यहाँका स्थानीय युवालाई रोजगारी मात्रै दिलाइदिए पनि धेरै सन्तोष हुन्थ्यौं हामी । तर केही समय अघि मात्रै युवालाई रोजगारी मिलाउनका लागि स्थानीय तहमै कुराकानी गर्दा पनि प्रहरी बल प्रयोग गर्ने, दमन गर्ने काम भएका छन् । यसका कारण युवालाई यहीँ काम गर्न दुरुत्साहन मिल्छ । यदी युवालाई प्रोत्साहन मिल्ने हो र काम गर्ने वातावरण दिने हो भने यहाँ धेरै अवसर छन् । मात्रै खोजी चाहीँ हामी युवाले पनि गर्न सक्नुपर्छ', उनी भन्छन् ।


